लघु तथा साना जलविद्युत् टिकाउन व्यवसायिक व्यवस्थापन र आर्थिक पारदर्शिता अनिवार्यः मन्त्री खड्का


पाटन (ललितपुर) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले लघु तथा साना जलविद्युत्लाई दीर्घकालीन रूपमा टिकाइ राख्न व्यवसायिक व्यवस्थापन र आर्थिक पारदर्शिता अनिवार्य रहेको बताएका छन् ।

राष्ट्रिय लघु तथा साना जलविद्युत् उपभोक्ता समाज नेपालको बिहीबार ललितपुरमा आयोजित आठौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री खड्काले अप्ठेरा भूगोलमा विद्युत पुर्याउनाले सामाजिक, आर्थिक रुपान्तरणमा ठूलो योगदान पुर्याएको उल्लेख गर्दै रोजगारी सृजना हुने र जनताले स्मरण गर्न सक्नेगरी काम हुन सकोस् भन्नेमा जोड दिए ।

“देशका कुना–कन्दरासम्म, अप्ठेरा र दुर्गम भूगोलमा बिजुली पुर्याउने काम असाधारण उपलब्धि हो, यसका लागि यस समाजले खेलेको भूमिका र गतिविधि प्रशंसा योग्य छन्, हाल देशभर करिब दुई हजार सङ्घसंस्था तथा व्यक्ति संलग्न रही ४० मेगावाटभन्दा बढी लघु तथा साना जलविद्युत परियोजनाबाट विद्युत्् उत्पादन भइरहेको अवस्था छ, यो सराहनीय काम हो,” उनले भने ।

मन्त्री खड्काले जनताले आफ्नै सहभागितामा विद्युत व्यवस्थापन गरेर अन्धकार हटाएको कार्य प्रशंसनीय रहेको भन्दै उपभोक्ता र समाजको योगदानलाई सम्मान गर्दै सरकारले निरन्तर सहयोग गर्दै आएको बताए । उनले लघु तथा साना जलविद्युत्लाई अझ व्यवसायिक ढङ्गले अघि बढाउन जरुरी रहेकामा जोड दिए ।

“लघु तथा साना जलविद्युत्लाई दिइएको ऋणलाई अनुदानजस्तो ठानेर वितरण गर्दा आर्थिक अनुशासनमा समस्या आउँछ, त्यसैले संस्थालाई व्यावसायिक मोडेलमा अघि बढाउन जरुरी छ, ऊर्जा क्षेत्रमा पछिल्ला वर्षमा नीतिगत सुधार भएका कारण दीगो र पारदर्शी प्रणालीतर्फ सरकार अघि बढिरहेको छ, सुशासन कायम गर्न सरकारले आक्रमक रूपमा काम गरिरहेको छ”, मन्त्री खड्काले भने ।