काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले लामो समयदेखि उखु किसानहरु आफ्नो उत्पादनको उचित मूल्य नपाएर निराश हुँदै आउनुपरेको भन्दै उनीहरुको माग पूरा गर्न आग्रह गरेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद चौधरील एकातिर उत्पादनको मूल्य नपाउन र त्यसमाथि रासायनिक मलको अभावले पनि पीडित भएको जनाउँदै यसको समस्या समाधान हुुनुपर्ने बताए ।
उनले भने, ‘कृषि हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो, र त्यसैको महत्वपूर्ण हिस्सा उखु उत्पादन हो । तर, विगत लामो समयदेखि किसानहरू आफ्नो उत्पादनको उचित मूल्य नपाई निराश हुँदै आएका छन् । यो नेपालको कृषि क्षेत्र र समग्र अर्थतन्त्रको लागि राम्रो संकेत हैन ।’
उत्पादन लागत लगातार बढ्दो क्रममा रहेको र रासायनिक मलको अभावले किसान थप मर्कामा परेको उल्लेख गर्दै चौधरीले भने, ‘उखु र केरा बालिका लागि अन्य बालिको तुलनामा दोब्बर रासायनिक मल आवश्यक पर्छ, तर किसानले न्यूनतम मल पनि पाउन सकेका छैनन् ।’
सरकारले उखु किसानलाई उपलब्ध गराउदै आएको अनुदान प्रति किविन्टल ७० रुपैयालाई आधाले कटौती गरेपछि उखु किसान सरकारविरुद्ध आन्दोलित छन् ।

प्रतिक्रिया