माओवादीको प्रश्नः सरकारलाई के आइलाग्यो र संसदलाई छलेर करका दर हेरफेर गरियो ?


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारले संसदलाई छलेर करका दर हेरफेर गरेको भन्दै आपत्ति जनाएको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले संसदलाई छलेर करका दरमा हेरफेर गरेको भन्दै आपत्ति जनाएका छन् ।

पुनले सरकारका तर्फबाट अर्थमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने बताए । उनले सदन चलिरहेको बेलामा पहिलो चौमासिकमै सदनलाई जानकारीबिनै करका दर हेरफेर गर्नु अन्तर्राष्ट्रिय करको सिद्धान्त विपरीत भएको भएको बताए ।

उनले भने, ‘सरकारले संसद्लाई छलेर केही करका दरहेरफेर गरेको समाचार सञ्चारमाध्यममा आएका छन् । सुन तथा सुनका गरगहना लगायतका बिलासिता सुनको २ प्रतिशत कर लगाएको थियो। सलाईको काँटी बनाउन जुन काठ प्रयोग हुन्छ त्यसको भन्सार महसुल घटाइएको कुरा आएको छ । किसमिस लगायतका सुख्खा फ्रुट लगायतमा अन्तशुल्क घटाइएको जस्ता कुरा आएका छन् ।’

पुनका अनुसार सरकारले सुन तथा सुनका गरगहनामा लगाएको २ प्रतिशत विलासिता शुल्क हटाएको छ । काटी, किसमिस, ग्रेप जुसलगायतमा अन्तःशुल्क ३५ प्रतिशत घटाइएको छ । औषधि र प्याकेजिङमा प्रयोग हुने बोटलमा लगाइएको १५ प्रतिशत अन्तःशुल्क घटाइएको छ । उनले यसरी करका दर हेरफेर गर्नु आर्थिक अपराध भएको बताए ।