गण्डकी । हालसम्म गण्डकी प्रदेशमा ७९ हजार ८३८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । जुन यस वर्ष रोपाइँ हुने क्षेत्रफलको झण्डै ८५ प्रतिशत हो । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार यस वर्ष ९४ हजार १८२ हेक्टरमा रोपाइँ हुने अनुमान छ ।
पछिल्लो आकडाअनुसार सबैभन्दा धेरै बागलुङमा ९५ प्रतिशत, लमजुङमा ९३.१८ प्रतिशत, कास्कीमा ९०.०१ प्रतिशत, नवलपुरमा ७८.७० प्रतिशत, तनहुँमा ८८ प्रतिशत, म्याग्दीमा ८६.०५ प्रतिशत, स्याङ्जामा ८१.८४ प्रतिशत, गोरखामा ७८.४० र पर्वतमा ८० प्रतिशत रोपाइँ भएको हो ।
निर्देशनालयका कृषि अर्थविज्ञ मनोज पौडेलका अनुसार अकासे पानीमा निर्भर हुने क्षेत्रमा रोपाइँ केही ढिला भएको छ । वर्षाले साथ दिएमा आगामी सातासम्ममा अधिकांश क्षेत्रको रोपाइँ सकिने छ । हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धानखेती हुँदै आएको छ ।
गत वर्ष ९६ हजार ५३ हेक्टरमा धानखेती गरिएकामा यस वर्ष धानखेतीको क्षेत्रफल घटेको हो । घरघडेरीले धानको उब्जाउ क्षेत्र नासिनु, तीव्र सहरीकरणजस्ता कारणले धानखेतीको क्षेत्रफल खुम्चँदै गएको हो । क्षेत्रफल घटे पनि सिँचाइ, खेती प्रणालीमा सुधार, रोगकीरा नियन्त्रण, उन्नत बीउ, प्रविधि र मल व्यवस्थापन बेलैमा हुनसके धानको उत्पादकत्व बढ्ने कृषि अर्थविज्ञ पौडेलले बताए।
गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धानखेती गरिन्छ । प्रदेशको ४ लाख ७९ हजार ६१७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झण्डै १ लाख हेक्टरमा धानखेती हुने गरेको छ ।

प्रतिक्रिया