काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन र अन्तर्राष्ट्रिय उडान विस्तारका लागि होटल संघ पोखरा नेपालले विहीबार प्रधानमन्त्री, अर्थमन्त्री तथा नेपालस्थित संयुक्त अरब इमिरेट्स (युएई) का राजदूतसमक्ष विशेष ध्यानाकर्षण गराएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणलाई दृष्टिगत गर्दै संघको टोलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत प्रधानमन्त्रीलाई भारतका विभिन्न सहरहरूसँग पोखरालाई सिधा हवाई उडानमार्फत जोड्न पहल गर्न अनुरोध गरेको हो।
अर्थमन्त्रीसँगको भेटमा पोखरा र भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न आफूले सक्दो पहल गर्ने प्रतिबद्धता अर्थमन्त्री पौडेलले व्यक्त गरेको होटल संघ नेपालका केन्द्रिय सदस्य तथा होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले जानकारी दिए।
पराजुलीका अनुसार, चालू बजेटमा पर्यटन क्षेत्रलाई अन्य उद्योगसरह सुविधा दिन गरिएको व्यवस्थाको कार्यान्वयन सुनिश्चित गर्न पनि संघले आग्रह गरेको छ।
संघको टोलीले युएईका राजदूत अब्दुल्ला सइद मुवारकसँगको भेटमा पोखरा-दुबई सिधा उडानका लागि सहयोग गर्न अनुरोध गरेको थियो। सो अवसरमा राजदूतले फ्लाई दुबईसँग उक्त सम्भावनाबारे छलफल गर्ने आश्वासन दिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।
राजदूत मुवारकले दुबईबाट पोखरामा लगानी भित्र्याउने र पोखराको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष सुवेदीले बताए।
त्यसैगरी, अर्थमन्त्रीसँगको भेटमा पोखरा नयाँ पुल-सुरुङ मार्गको शिलान्यास छिट्टै हुने जानकारी दिँदै मन्त्री पौडेलले उक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको र चालू आर्थिक वर्षको बजेटमा त्यसका लागि रकम समेत विनियोजन गरिएको जानकारी गराएको सुवेदीले उल्लेख गरे।
नारायणगढ-बुटवल सडकको स्तरोन्नति तथा पोखरा-मुग्लिन सडक निर्माणको कामलाई तीव्रता दिन समेत संघले अर्थमन्त्रीसँग आग्रह गरेको थियो।



प्रतिक्रिया