पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन डिपो निर्माण


काठमाडौं । नेपाल आयल निगमले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन डिपो निर्माण गरेको छ । आन्तरिक तथा बाह्य पर्यटकको पोखरा भ्रमणको बढ्दो क्रमलाई मध्यनजर गर्दै निगमले डिपो निर्माण गरेको हो ।

निगमले पहिलो पटक स्वदेशी सीप र पुँजीमा डिपो निर्माण गरेको हवाई इन्धन डिपो निर्माण परियोजना, पोखरा कास्कीका परियोजना प्रमुख प्रदीप कुमार यादवले जानकारी दिए । उनका अनुसार यो डिपो स्वदेशी प्रविधि, स्वदेशी डिजाइन र ठेकेदारको सहयोगमा निर्माण भएको हो ।

परियोजनाको विस्तृत संभाव्यता अध्ययन प्रतिवेदन (डिपिआर) पुल्चोक इन्जिनियरिङ संस्थानले बनाएको हो । यहाँ प्रति ट्यांकी १२ सय किलोलिटर क्षमताको ३ वटा (कुल ३६ सय किलोलिटर) ठूला भण्डारण गृह निर्माण गरिएको छ ।

त्यस्तै, डिपो सुरक्षामा उच्च सतर्कता अपनाउनका लागि १२ सय किलोलिटर क्षमताको अलग्गै पानी ट्यांकी निर्माण गरिएको छ । २०७७ साल चैत २ गते यहाँ हवाई इन्धन डिपो निर्माणका लागि सार्वजनिक खरिद ऐनअनुसार बोलपत्र आह्वान भएको थियो।

तस्बिरः राधिका कँडेल