सुनकोशी मरिन डाइभर्सन आयोजनाको प्रगति १ प्रतिशत मात्रै !


काठमाडौँ । संसदको पूर्वाधार विकास समितिले राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन आयोजनाको प्रगति सन्तोषनक नरहेको निष्कर्ष निकालेको छ ।

समितिको बुधबार बसेको बैठकमा आयोजनाको हालसम्मको प्रगति विवरण सन्तोषजनक नरहेकाले परियोजनासँग सम्बन्धित दस्तावेजनको विस्तृत अध्ययन गर्ने निर्णय गरेको छ ।

बैठकले सो सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसँग थप छलफल गर्ने निर्णय गरेको समिति सभापति दीपकबहादुर सिंहले जानकारी दिए ।

‘आयोजनाको प्रगति १ प्रतिशत मात्रै देखियो, केकति कारणले न्यून प्रगति भएको हो भनेर बैठकमा छलफल भयो’, उनले भने, ‘सो सम्बन्धमा सम्बन्धित मन्त्रीसँग थप जानकारी लिने र अध्ययनका लागि आयोजनासँग सम्बन्धित थप कागज मगाउने निर्णय भयो ।’

बैठकले राष्ट्रिय गौरवका आयोजनामा आयोजना प्रमुखको नियुक्तिमा ढिलाइ नगर्न सरकारलाई निर्देशनसमेत दिएको छ ।

आयोजनामा नौ महिनासम्म आयोजना प्रमुख नतोकिएको पाइएको छ । आयोजनाका ठेकेदार कम्पनीमा रमन कन्स्ट्रक्सन जेभी पेटल कम्पनी रहेको छ ।