उज्यालो नेपालका नायक कुलमान होइनन्ः उर्जामन्त्री खड्का
काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले अब साँझमा लोडसेडिङ हुने अवस्था सृजना भएको बताएका छन् ।
बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले विगतमा पनि उद्योगमा लोडसेडिङ गरेर जनताको घरमा विद्युत दिएको बताएका हुन् ।
उनले सरकारी लगानीबाट सञ्चालित प्राधिकरणले अहिले पनि जम्मा ७०० मेगावाट विद्युत मात्र उत्पादन गरिरहेको उल्लेख गर्दै अहिले पनि ८२५ मेगावाट विद्युत आयात गरेर नेपालको आपूर्ति धानिरहेको बताए ।
उनले उज्यालो नेपालको नायक नेपाल विद्युत प्राधिकरणक कार्यकारी निर्देशक कुलमान घिसिङ नभएर भारत र उर्जा उत्पादक निजी क्षेत्र रहेका बताए ।
उनले प्राधिकरणको नेतृत्वका कारण प्राधिकरण घाटामा गएको भन्दै कुलमानको आलोचना गरे । उनले भने,‘प्राधिकरणको आम्दानी यति अर्ब छ भनेर दाबी गरे पनि त्यो गलत हो । म बोर्डको अध्यक्ष भएकाले डिडिए गरौं न त भनेको हो । बाहिरको बुझाइ एक छ, महालेखाले साढे दुई खर्ब घाटा छ भन्छ । यथार्थ कुरा बाहिर ल्याउनु मेरो दायित्व हो नि त । यथार्थ कुरा भन्दा भन्दै पनि यथार्थ कुरामा छानबिन गर्न नलागेर माननीयज्यूहरु आलोचनातिर लाग्दा दुःख लाग्छ ।’
उनले भगवान कोही नहुने भन्दै बेथिति रोक्न सबै लाग्नुपर्ने बताए ।