पोखरामा निर्माण हुने कोसेली घरको शिलान्यास
काठमाडौं । पर्यटकीय राजधानी पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा कोसेली घर निर्माण हुने भएको छ । कोरिया अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को आर्थिक सहयोगमा पोखरामा सञ्चालन हुने ‘रिसाइक्लिङ’ र ‘अपसाइक्लिङ’ मार्फत हरित रोजगारी सिर्जना परियोजनाअन्तर्गत कोसेली घरको सोमबार शिलान्यास गरिएको हो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कोइका नेपालका देशीय निर्देशक मोहेन कोङ, युएनडिपीका एसिया क्षेत्रीय निर्देशक क्रिस्टोफर बहाइटले उक्त घरको संयुक्त रूपमा शिलान्यास गरे ।
परियोजनामा कोइकाले ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर गरी कुल १०.६७ मिलियन अमेरिकी डलर लगानी गर्ने छन् । आगामी १ वर्ष ६ महिनामा निर्माण सम्पन्न गर्नेगरी कोसेली घरको ठेक्का इन्टरनेशनल इञ्जिनियरिङ एण्ड कन्स्ट्रक्सन कम्पनी काठमाडौंले लिएको छ ।
परियोजनाले नकुहिने फोहर प्रशोधनसहित फोहरबाट नयाँ चिजहरू उत्पादन गर्नेछ । यसलाई सिकाइ केन्द्रका रूपमा विकास गरिने र पोखराका लागि एक पर्यटन गन्तव्यका रूपमा स्थापित हुने विश्वास लिइएको महानगर प्रमुख आचार्यले बताउनुभयो । उनका अनुसार हरित रोजगारी सिर्जनासँगै चक्रीय अर्थतन्त्रको निर्माणमा यसले योगदान गर्नेछ ।
‘फोहरमैलाको व्यवस्थापन निकै चुनौतीपूर्ण भइरहेका बेला यसलाई मोहोरमा बदल्ने गरी महानगर क्षेत्रका १३६ वटा समूहमार्फत पुनःप्रयोगमा आउने सामग्रीहरू निर्माण गरी आर्थिक रूपमा सामुदायिक सशक्तीकरण हुने विश्वास लिएका छौँ,’ आचार्यले भने ।
विदेश पलायन भइरहेका युवा शक्ति र गृहिणी महिलाका लागि हरित रोजगारी सिर्जना महत्वपूर्ण रहेको उनले बताए ।
‘यस परियोजनाले युवालाई रोजगारीसँग जोड्ने छ भने फोहरबाट मोहोर पनि आर्जन हुनेछ । परियोजनाको पहिलो चरणमा ३ हजार बढी प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ,’ प्रमुख आचार्यले भने ।
कोइका नेपालका देशीय निर्देशक मोहेन कोङले पोखरा महानगरपालिका र कोइकाबीचको सहकार्य तथा समझदारीलाई बलियो बनाउँदै यस परियोजनाले नयाँ उचाइ प्रदान गर्ने विश्वास व्यक्त गरे ।
नेपालको पर्यटन राजधानी पोखरामा रिसाइकल र अपसाइकलमार्फत हरित रोजगारी सिर्जनाका नमुनाका रूपमा विकास गर्न यो परियोजना कोसेढुङ्गा सावित हुने कोङले उल्लेख गरे ।
संयुक्त राष्ट्रिय विकास कार्यक्रम (युएनडिपी) का एसिया क्षेत्रीय निर्देशक क्रिस्टोफर बहाइटले हरित अर्थतन्त्रमा योगदान पुर्याउने दिगो रिसाइकल र अप-साइकल (आरयु) उद्यमलाई बढवा दिन परियोजना प्रभावकारी हुने बताए ।
पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले स्वच्छ पोखरा, हरित पोखरा निर्माणसँगै हरित रोजगारी सिर्जनामा यो परियोजनाले उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पर्यटन राजधानी पोखराका लागि परियोजना रोजगारी सिर्जनाको नयाँ प्रयोगका रूपमा प्रभावकारी हुने बताए ।
पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले परियोजना पोखराका लागि रोजगारी सिर्जना, सिकाइ प्रवद्र्धन र उत्पादनका हिसाबले महत्वपूर्ण रहेको बताए ।