पुस २५ गतेदेखि चितवन महोत्सव



काठमाडौँ । चितवनको नारायणगढस्थित नारायणी किनारमा यही पुस २५ गतेदेखि आगामी माघ १० गतेसम्म १५औँ चितवन महोत्सव आयोजना हुने भएको छ ।

मध्ये क्षेत्रको ठूलो मानिने चितवन महोत्सवबारे शुक्रबार पत्रकार सम्मेलन गरी महोत्सव मूल आयोजक समितिका संयोजक एवं उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमन श्रेष्ठले महोत्सवले समग्र चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे । उनका अनुसार हरेक दुई वर्षमा आयोजना हुने महोत्सव यसपालि १० दिनबाट बढाएर १५ दिन पुर्याइएको छ ।

सार्वजनिक नीति साझेदारीको नमूना प्रस्तुत गर्दै भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति मुख्य प्रवद्र्धन रहने गरी उद्योग वाणिज्य सङ्घ चितवनको आयोजनामा हुने चितवनको गौरव र गरिमामय प्रस्तुति चितवन महोत्सवमा यसपालि चिनियाँ व्यापारी कक्ष (पेभेलियन) रहने आयोजकले जनाएको छ ।

बेरोजगार युवालाई महोत्सव परिसरमा रोजगारी उपलब्ध गराइने गरी नयाँ कार्यक्रम तयार पारिएको संयोजक श्रेष्ठले जानकारी दिए । “भरतपुर महानगरसँगको समन्वयमा बेरोजगार युवा र रोजगारदातालाई रोजगार परिसर निर्माण गरी भेट गर्ने व्यवस्था गरिएको छ । जहाँ दक्ष र बेरोजगार युवालाई परिसरमा रोजगारी दिने व्यवस्था गरिएको छ”, उनले भने । उनले महोत्सवमा रोजगार कक्ष (डेस्क) स्थापना हुने बताए ।

महोत्सव अवधिभर उद्यम गर्न चाहनेको तथ्याङ्क लिइने र नवउद्यमीहरूको पहिचान गरिने छ । त्यसपछि सङ्घमा स्थापना भएको रोजगार तथा व्यवसाय सूचना केन्द्रमार्फत रोजगारीका लागि पहल गरिने जनाइएको छ । त्यस्तै आवश्यक सीप र तालिम सञ्चालन गरी स्वरोजगारका अवसर सिर्पना गरिने महोत्सवका संयोजक श्रेष्ठले बताए ।

सङ्घले विगतका वर्षहरूमा पोल्ट्री, डेरी, मौरी र मह, केरालगायत उत्पादनलाई केन्द्रमा राखेर महोत्सव गरिसकेको भन्दै उनले महोत्सवबाट ती क्षेत्रको व्यावसायिक विकासमा सहयोग पुगेको विश्वास व्यक्त गरे । संयोजक श्रेष्ठले भने, “यसवर्षको महोत्सव पर्यटन विकासमा केन्द्रित रहेको छ, यसपटक विविधतालाई प्रतिनिधित्व गर्नेगरी कृत्रिम पार्क निर्माण गर्दैछौँ,  चितवनका पर्यटकीय स्थलमा जान÷आउन सफारीको व्यवस्था, होमस्टेमा बस्ने व्यवस्था, वृत्तचित्र प्रदर्शनी, महोत्सवबाट पर्यटकीय स्थलहरूमा जाने तथा पार्टी र बासको व्यवस्था गर्दैछौँ ।”

चितवन महोत्सवमा घुम्न आउने पर्यटकलाई बस्न, खानमा महोत्सव अवधिभर पर्यटन व्यवसायीसँगको समन्वयमा छुटको व्यवस्था समेत गरिएको महोत्सवको आर्थिक समितिका संयोजक, उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष कल्याण जोशीले जानकारी दिए । उनले महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पोल्ट्री, तथा उद्योग प्रवद्र्धनका गतिविधि सञ्चालन हुने बताए ।

उनका अनुसार पुस २९ गतेदेखि माघ ४ गतेसम्म चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटक, सूचना प्रविधि, साहित्यलगायत जिल्लाको समग्र सामाजिक, आर्थिक, विकासका सम्भावनामा केन्द्रित विज्ञहरूसहितको राष्ट्रिय सेमिनार आयोजना गरिने छ । यसपटक तोरीको उत्पादन प्रवद्र्धन गर्न मौरीको प्रतिमासहित तोरीबारी पनि निर्माण गरिने छ ।

अन्तर्राष्ट्रिय उत्पादनको प्रदर्शनी

महोत्सवमा यसपालि अन्तरराष्ट्रिय उत्पादनको पनि प्रदर्शनी हुने आयोजकले जनाएको छ । चीनको उद्योग वाणिज्य सङ्घको समन्वयमा चीनका विभिन्न प्रतिष्ठानको उत्पादन प्रदर्शनीसहित चाइनिज पेभेलियन रहने उद्योग वाणिज्य सङ्घ चितवनका उपाध्यक्ष राजेन्द्र वलीले जानकारी दिए ।

उहाँका अनुसार उक्त पेभेलियनमा सात वटा विशेष स्टल रहने छन् । यसका साथै महोत्सवमा कृषि परिसर, अटो परिसर, डोम, निर्माण एक्स्पो र रेष्टुरेण्ट परिसरसहित कूल चार सय ३० वटा स्टल रहने महोत्सव आयोजक समितिले जनाएको छ ।

पुस २९ देखि ‘फुड फेष्टिभल’

महोत्सवअन्तर्गत पुस २९ गतेदेखि माघ ७ गतेसम्म भने नारायणगढको क्याम्पाचौरमा फुड फेष्टिभल (खाना महोत्सव) आयोजना गर्न लागिएको आज पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । फुड फेष्टिभलमा परम्परागत खानाको प्रवद्र्धन गरिने आर्थिक समितिका संयोजक जोशी जानकारी दिए ।

पन्ध्र दिनसम्म सञ्चालन हुने महोत्सवमा विगतमा जस्तै विविध खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको भेषभुषा, कला संस्कृति झल्कने मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, दैनिक राष्ट्रिय कलाकारको प्रस्तुति, बाल उद्यानलगायत सञ्चालन हुने जनाइएको छ । महोत्सवको पाँच लाख दर्शकले अवलोकन गर्ने र ३० करोड बढीको कारोबार हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्से सामान्य अङ्कले बढ्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक

सुनको मूल्य प्रतितोला एक हजार पाँच सय घट्यो

काठमाडौँ । आइतबार  सुनको मूल्य घटेको छ । आन्तरिक बजारको माग तथा आपूर्ति

म्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटिक बनाउने भीड

म्याग्दी ।  केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित म्याग्दीको बेनी नगरपालिका-१