निजी क्षेत्रको मान मर्दन नगरी सम्मान गर्ने नीति ल्याउन अध्यक्ष ढकालको सुझाव
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्नेमा जोड दिएका छन् ।
कांग्रेस संसदीय दलले शुक्रबार आयोजना गरेको छलफलमा अध्यक्ष ढकालले सुधारका लागि पहिलो सन्देश सबै राजनीतिक दलहरूले उद्यमी र व्यवसायीलाई प्रोत्साहन र समर्थन दिनुपर्ने रहेको बताए । सम्पत्ति निर्माण नगरी कुनै व्यक्ति, समाज वा देश धनी बन्न नसक्ने बताए ।
उनले कुनै ठाउँमा बदमासी भए त्यसलाई नियन्त्रण गर्न सकिने तर समग्र निजी क्षेत्रको मान मर्दन गर्नुको साटो सम्मान गर्नुपर्ने बताए । उनले व्यवसाय दर्ता, नविकरण वा राजस्व बुझाउने प्रक्रियामा एकीकृत प्रणाली ल्याउनु पर्नेमा पनि जोड दिए ।
साना उद्यमीलाई परियोजना धितोमा कर्जा दिनुपर्ने आवश्यकता औंल्याउँदै महासंघले यसको जोखिमन्युनिकरण र सञ्चालनका लागि अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाइ सकेको जानकारी ढकालले दिए ।
नेपाल दुई वर्षपछि विकासोन्मुख मुलुकमा स्तरोन्नति हुने कुरामा योजना आयोगको रणनीतिले जोखिम न्यूनीकरण गर्न सक्षम नभएको उनको टिप्पणी छ।
ढकालले निजी क्षेत्र रणनीति बनाउन तयार रहेको बताउँदै २०२१ मै यस सम्बन्धी पहिलो प्रतिवेदन सार्वजनिक गरेको स्मरण गराए । ढकालले विगत दुई वर्षदेखि बजार नियन्त्रणका लागि अपनाइएका नीतिहरूले अर्थतन्त्रमा समस्या सिर्जना गरेको उल्लेख गरे ।
उनकाअनुसार कम मागका कारण बजारमा चहलपहल नभएको र उद्यमीहरू लगानी गर्न हतोत्साहित भएका बताए । महासंघले दशैं–तिहार लक्षित सर्वेक्षणबाट गतवर्षको तुलनामा बिक्री ४० प्रतिशतसम्म घटेको देखाएको जानकारी पनि उनले दिए । तर, ढकालले अर्थतन्त्र निराशाजनक नभएको र सुधारको सम्भावना रहेको औंल्याए ।