नेप्सेमा उच्च अंकको बृद्धि, ५ अर्ब ३४ करोडको कारोबार


काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से दोहोरो अंकले बढेको छ । आइतबार ९ अंकले घटेको नेप्से सोमबार भने २७ दशमलव ४१ अङ्कले बढेर दुई हजार ६ सय ४५ दशमलव ३६ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, बीमा, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज जानकी फाइनान्स र दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर भने सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ ।

आज तीन सय सात वटा कम्पनीका एक करोड चार लाख कित्ता शेयर पाँच अर्ब ३४ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको ३३ करोड रुपैयाँको शेयर किनबेच भयो ।