म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती



म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीका किसानले जिल्लामै पहिलोपटक अकबरे जातको खुर्सानीको व्यावसायिक खेती थालेका छन् ।

कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले भकिम्लीका किसानले व्यक्तिगत र सामूहिक रूपमा व्यावसायिक अकबरे खेती गर्न थालेको जानकारी दिए ।

‘भूगोल र हावापानी अनुकूल भएकाले भकिम्लीको व्यावसायिक अकबरे खुर्सानीखेती सफल देखिएको छ,’ उनले भने, ‘बेनी, दरवाङ, तातोपानी, गलेश्वरलगायत बजार क्षेत्रमा आवश्यक पर्ने अकबरे खुर्सानी तराई र पूर्वी पहाडी जिल्लाबाट ल्याउने क्रम घटेको छ ।’

भकिम्लीको गङ्गा पशुपक्षी तथा फलफूल कृषि फार्मका सञ्चालक खिमबहादुर आले मगरले कोदो, मकैलगायत परम्परागत खाद्यबालीको विकल्पमा सात रोपनी जमिनमा हालसम्म उत्पादन भएको सात सय किलोग्राम अकबरे खुर्सानी बेचेर  एक लाख ७५ हजार आम्दानी गरेको बताए ।

‘बेनीका तरकारी पसलमा होलसेलमा प्रतिकिलो २५० रुपैयाँका दरले अकबरे खुर्सानी बिक्री भएको छ,’ उनले भने, ‘परम्परागत अन्नबालीको तुलनामा खुर्सानीखेतीबाट धेरै गुणा बढी आम्दानी गर्न सकिन्छ ।’ आलेका साथै बेलढुङ्गा कृषक समूहले सात रोपनी, चिनाखेतका दीपक पुन, दिवस घर्तीलगायतका किसानले व्यावसायिक अकबरे खुर्सानी खेती गरेका छन् ।

बेलढुङ्गा कृषक समूहका सचिव भीमबहादुर रोकाले ताप्लेजुङबाट बिउ ल्याएर परीक्षणका लागि गरेको अकबरे खुर्सानी खेती सफल भएपछि व्यावसायिक खेती थालेको बताए ।

१९ जना किसानले ५/५ लाखका दरले लगानी गरेर ३५ रोपनी जग्गा भाडामा लिएर बसाइँसराइसँगै बाँझिएको खेतबारीमा खनजोत गरी खुर्सानी, किबी, सुन्तला, आलुखेती र नर्सरी सञ्चालन गरेका छन् ।

दिउँसो २२ देखि २५ डिग्री सेल्सियस र राति १५ देखि २० डिग्री सेल्सियस तापक्रम हुने उच्च पहाड र तराईको भूगोलमा अकबरे खुर्सानी खेती गर्न सकिन्छ । खुर्सानी खेती भकिम्लीका किसानलाई तरकारी खेती प्रवर्द्धन कार्यक्रममार्फत अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्रका प्रमुख बाँस्तोलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतको क्षमता विस्तार र खपत वृद्धिको लक्ष्य

भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो

बागलुङ। बागलुङमा यस वर्ष ढिलोगरी मुस्ताङी च्याङ्ग्रा भित्रिएको छ । आइतबार ११ दिनको

वायु सेवा निगमको न्यारोबडी जहाजले असोज २४ गते काठमाडौं–भैरहवा उडान गर्ने

काठमाडौं । नेपाल वायु सेवा निगमले दशैंको फूलपातीका दिन काठमाडौं–भैरहवा–काठमाडौं उद्धार उडान गर्ने

नेप्सेमा दोहोरो अंकको बृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा जारी छ