संसदीय छानबिन विशेष समितिले थाल्यो थुनामा रहेका सहकारी संचालकहरुसँग सोधपुछ


काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सहकारीको बचत दुरुपयोगको अभियोगमा थुनामा रहेका सहकारी संचालकसँग सोधपुछ सुरु गरेको छ ।

त्यसैक्रममा समितिले शनिबार नख्खु जेलमा रहेका तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई समितिमा बोलाएर सोधपुछ गरेको हो । यसअघि शुक्रबार समितिले रकम हिनामिनामा जोडिएका दुई सहकारीका संचालकसँग सोधपुछ गरेको थियो ।

समितिको शुक्रबारको बैठकमा गोरखा बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष डम्बरबहादुर तामाङ र गोरखा सेभिङ तथा क्रेडिट सहकारी संस्थाका अध्यक्ष इमान सिंह राइसँग सोधपुछ गरेको थियो ।

समितिले समस्याग्रस्त २९ वटा सहकारीका संचालकसँग सोधपुछ गर्नेछ । तीन महिनाको समय पाएको समितिले प्रमाणहरू जुटाउने र अन्य निकायबाट प्रमाण लिने काम गरिसकेको छ ।

समितिले जेलमा भएका व्यक्तिहरूसँग सोधपुछका लागि सहजीकरण गरिदिन गृहमन्त्रीलाई आग्रह यसअघि नै पत्राचार गरेको थियो भने फरार १८ जनालाई नेपाल ल्याउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ । समितिले सहकारी ठगी प्रकरणमा जोडिएका रास्वपाका सभापति रवि लामिछानेसँग पनि बयान लिने तयारी गरेको छ ।