भारततर्फ दैनिक ४ सय मेगावाट विद्युत निर्यात सुरु


काठमाडौं । खोला तथा नदीहरूमा पानीको बहाव क्रमिक रूपमा बढेर विद्युत् उत्पादन बृद्धि हुन थालेपछि भारतर्फ विद्युत् निर्यात सुरु भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत १४ जेठ रातिबाट भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरिएको विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

खोला तथा नदीमा पानीको बहाब बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनीहरू र निजी क्षेत्रका स्वामित्वमा रहेका जलविद्युत आयोजनाहरूको विद्युत् उत्पादन बृद्धि भएर आन्तरिक माग पूरा भएपछि अतिरिक्त भएको विद्युत् निर्यात सुरु गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रूपमा ४ सय मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेको जानकारी दिए । उनले भने,’आन्तरिक माग पूरा गरी अतिरिक्त भएको एक हजार देखि एक हजार दुई सय मेगावाट विद्युत् प्रतिस्पर्धी बजार र द्विपक्षीय सम्झौताबमोजिम यस वर्ष निर्यात लक्ष्य राखिएको छ । निर्यात स्वीकृतिका लागि आयोजनाहरूको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरणसमक्ष प्रस्ताव पठाइसकेका छौँ ।’

द्विपक्षीय सम्झौताबमोजिम बिहार राज्यलाई करिब २ सय मेगावाट विद्युत् बिक्रीका लागि पावर ट्रेड कम्पनीसँग र करिब ४०० हरियाणा राज्यलाई बिक्री गर्न एनटीपीसी विद्युत् व्यापार निगम लि. एनभीभीएनसँग सम्झौता गरी स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा प्रस्ताव पठाइसकेको घिसिङले जानकारी दिए ।

केन्द्रीय विद्युत प्राधिकरणले हालसम्म नेपालका १५ वटा जलविद्युत् आयोजनाहरूबाट उत्पादित ६५६ मेगावाट विद्युत् प्रतिश्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिएको छ । ६५६ मेगावाटबाटै मध्यकालीन विद्युत् सम्झौता बमोजिम हरेक वर्ष जुन–अक्टोबरसम्म पाँच वर्षका लागि ११० मेगावाट विद्युत् एनभीभीएनलाई बिक्री गर्न स्वीकृति दिइएको छ ।

एनभीभीएनले उक्त विद्युत हरियाणा राज्यलाई बिक्री गर्दै आएको छ । नेपालले विद्युत् रियल टाइम मार्केटमा बिद्युत खरिद बिक्रीको पनि अनुमति पाएको छ ।