बजेटका सिद्धान्त र प्राथमिकतामा हेरफेर गर्न सुझाव आएको थियो, तर मैले त्यसो गर्नु उपयुक्त ठानिनः अर्थमन्त्री पुन



काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको कार्यकालमा तय भएका सकारात्मक कार्यक्रममा कुनै परिवर्तन नहुने जानकारी दिएका छन् । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्का देशीय निर्देशक फारिस हदाद जर्भोससँग शुक्रबार मन्त्रालयमा भएको भेटमा उनले मन्त्री फेरिँदैमा सरकारको नीतिमा तात्विक परिवर्तन नहुने बताए ।

निवर्तमान अर्थमन्त्री डा महतले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताको स्वामित्व लिएर आफूले त्यो सन्देश दिइसकेको उनको भनाइ थियो ।

“मन्त्री फेरिँदैमा नीतिमा धेरै परिवर्तन गर्नु हुँदैन । राज्यको नीतिमा स्थायित्व चाहिन्छ”, पुनले भने, “कतिपय कोणबाट मलाई सिद्धान्त र प्राथमिकतामा हेरफेर गर्न सुझाव पनि आएको हो । तर मैले त्यसो गर्नु उपयुक्त ठानिन ।” सिद्धान्त र प्राथमिकताबारे सङ्घीय संसद्का दुवै सदनमा सांसदले हरेक प्रश्नको जवाफ दिएको र जस्ताको तस्तै पारित भएको मन्त्री पुनले बताए ।

आगामी १६ र १७ वैशाखमा निर्धारण गरिएको तेस्रो लगानी सम्मेलन र असारमा काठमाडौँमा हुने विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए) बैठक तोकिएकै समयमा हुने जानकारी पनि उनले दिए । मन्त्री पुनले पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै ती कार्यक्रम हुने सन्देश विश्व बैंक मुख्यालयसम्म पुर्याइदिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

फरक प्रसङ्गमा मन्त्री पुनले मिलेनियमन च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)मार्फत हाल सञ्चालित आयोजना पाँच वर्षभित्रै सक्ने प्रतिबद्धता जनाए । त्यस क्रममा मन्त्री पुनले नेपाल पुँजीगत खर्च बढाउन प्रयासरत रहेको बताए ।

बिहीबारसम्म चालु आर्थिक वर्षका लागि विनियोजित पुँजीगत बजेटको ३० प्रतिशत खर्च भएको उल्लेख गर्दै अर्थमन्त्री पुनले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुुँजीगत खर्च बढाउन मन्त्रीहरू र प्रशासनिक नेतृत्वलाई निर्देशन दिएको जानकारी दिए ।

“प्रधानमन्त्रीले स्पष्ट रूपमा हामी सबै मन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ”, मन्त्री पुनले भने, “मैले पनि सबै मन्त्रालय र निकायलाई पुँजीगत खर्च बढाउनुस् भनेको छु । स्रोत नपुगेको भए अर्थ मन्त्रालयलाई भन्नुस् ।”

आगामी सन् २०२६ भित्र नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति भइसक्ने विश्वास अर्थमन्त्री पुनले व्यक्त गरे । त्यसका लागि आवश्यक योजना, नीति तथा कार्यक्रम तय गर्नुका साथै कानुनी सुधार र लगानीका नयाँ ढोका खोल्न क्रियाशील रहेको उनको भनाइ थियो ।

नेपालको आन्तरिक स्रोतले मात्र विकासमा फड्को मार्न नसकिने भएकाले सहुलियतपूर्ण कर्जामा जोड दिएको स्पष्ट पारे ।

अर्थमन्त्री पुनले गेमचेन्जर आयोजनाका रूपमा रहेको एक हजार दुई सय मेगावाटको बुढीगण्डकी जलासययुक्त जलविद्युत् आयोजना आन्तरिक स्रोतबाटै निर्माण गर्ने तयारी अघि बढेको बताए ।

जवाफमा विश्व बैंकका देशीय निर्देशक जर्भोसले नेपालको विकास प्रयासमा विश्व बैंकले विगतदेखि नै सहायता गर्दै आएको उल्लेख गर्दै सहयोगले निरन्तरता पाउने प्रतिबद्धता जनाए । माथिल्लो अरुण अर्धजलासययुक्त जलविद्युत् आयोजना र दूधकोशी जलासययुक्त आयोजनामा विश्व बैंक र एसियाली विकास बैंकले लगानीको प्रतिबद्धता जनाएको भन्दै उनले छिट्टै वित्तीय व्यवस्थापन टुङ्ग्याउनेगरी काम अघि बढाउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामी सरकार फेरबदलमा केन्द्रित नरहेको तर….

हेटौँडा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान व्यवस्था र संविधानको

इलाम–२ मा शान्तिपूर्ण रूपमा मतदान, ५७ प्रतिशत खस्यो मत

फिक्कल (इलाम) । इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको

विद्युत् उत्पादनको लक्ष्य प्राप्ति गर्न १२ वर्षमा  ६१ खर्ब लगानी आवश्यक

  काठमाडौँ ।  ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे टु प्रोस्पेरिटी’ विषयक प्राविधिक

लगानी सम्मेलनमा ५५ देशका लगानीकर्ता आउने

  काठमाडौँ ।  आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश