काठमाडौँ । नेपाली कांग्रेसका डा प्रकाशशरण महतले आम्दानी र स्रोतको सुनिश्चितता गरेर बजेट निर्माण गर्नुपर्ने सुझाव दिएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (करप्रस्ताव बाहेक) माथिको छलफलमा उनले भने, “अर्थतन्त्रलाई सुदृढ बढाउन कुन क्षेत्रमा लगानी गर्दा प्रतिफल आउँछ, कुन क्षेत्रमा लगानी गर्दा प्रतिफल आउँदैन भनेर लक्षित गरेर बजेट बनाउन जरुरी छ । लगानी बिस्तारै बढ्न थालेको छ, पर्यटक बिस्तारै आउन थालेका छन्, बिस्तारै आर्थिक अवस्थामा सुधार हुँदै जान्छ ।”
सामाजिक सुरक्षामा ठूलो दायित्वलाई भएकाले स्रोतको प्राथमिकीकरण गरेर खर्च गर्नुपर्ने र अनावश्यक खर्च कम गर्ने विषयमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । सोही पार्टीका सञ्जयकुमार गौतमले नेपाली जनताले महसुस गर्ने खालको विकास गर्नुपर्ने र त्यसका लागि सरकारले प्राथमिकता निर्धारण गर्नुपर्ने सुझाव दिए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ईश्वरबहादुर रिजालले पहाडी बस्तीहरुलाई सहरउन्मुख एकीकृत बस्ती निर्माण गरी समाजवाद, गाउँको विकास र सामग्रमा देशको विकास हुने बताए । उनले संविधानले अङ्गीकार गरेको व्यवस्थाअनुसार बजेटमा लोककल्याणकारी राज्य, दलितजस्ता शब्दसमेत नभएको गुनासो गरे । सोही पार्टीका दीपा शर्माले गत फागुनमा मात्र ६५ हजार युवा काम तथा अध्ययनका लागि विदेशिएको हुँदा युवालाई स्वदेशमै रोजगारी दिने खालको वातावरण बजेटले ल्याउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया