स्वदेशमै कृषिमा भविष्य देखेका धनकुमार



भोजपुर । भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ । उनीहरुले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् । कृषिमा लाग्ने युवालाई राज्यले सञ्चालन गरेको विभिन्न प्रोत्साहनमूलक कार्यक्रमले पनि सहयोग पुगेको छ ।
आफ्नै ठाउँमा केही गर्ने अभिलासाले पौवादुङमा गाउँपालिकाका धनकुमार राईले लामो समयदेखि कृषि व्यवसाय गर्दै आएका  छन् । उनी करिब १८ वर्षदेखि उक्त कर्ममा लागेका हुन् । राईले तीन वर्ष अघि सदरमुकाम नजिकै टक्सारमा साढे छ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । तरकारी व्यवसायबाट मनग्य आम्दानी गर्न सकिने देखेपछि यसलाई थप विस्तार गरेको उनको भनाइ छ ।
“विदेश जानुभन्दा स्वदेशमै व्यावसायिक भएर काम गर्न सकियो भने आम्दानी गर्न सकिन्छ”, राईले भने, “वार्षिक रुपमा  नौ लाखसम्मको तरकारी बिक्री गर्छु । त्यसमा कामदार, बीउबिजनलगायत खर्च कटाउँदा वार्षिक  तीनदेखि  चार लाखसम्म आम्दानी हुन्छ ।”
कृषक राईले आफ्नो तरकारी फर्ममा गोलभेँडा, कुरिलो, सिमी, बन्दाकोभी, काउली तथा  विभिन्न बेमौसमी तरकारबाली लगाएको बताए । कृषि कर्ममा मेहनत गरेर लाग्न सके जीवन गुजारा गर्न समस्या नरहेको कृषक राईले बताए । अहिले महिनामा पाँच÷छ जनालाई रोजगारीसमेत दिएको उनको भनाइ छ ।
“आफ्नै ठाउँमा कृषि कर्म गर्न पाउँदा खुसी लाग्छ”, उनले भने, “विदेश जाने मोह त्यागेर लामो समयबाट यही पेसामा लागेको छु । यहाँबाट आएको आम्दानीबाट सन्तुष्ट  छु । केही मानिसहरुलाई रोजगारी पनि दिएको छु ।”
उत्पादित कृषि उपजको बजारीकरणमा राज्यले सहयोग गरे अझ बढी आम्दानी लिन सकिने कृषक राईको भनाइ छ । बजारीकरणको समस्याका कारण कुनै समयमा तरकारी बारीमा कुहिएर जाने अवस्था आउने गरेको उनले बताए । “कृषि व्यवसायको मुख्य समस्या बजारीकरणको छ”, उनले भने, “बजारको राम्रो व्यवस्था नहुँदा कुनै समयमा बारीमा तरकारी कुहिएर गएको अवस्था पनि छ ।”
नमूना कृषि फर्मका रुपमा विस्तार गर्न कृषि ज्ञान केन्द्रबाट आर्थिक वर्ष २०७९/८० मा दुई लाख ८९ हजार अनुदान सहयोग पाएको राईले बताए । आफूले गरेको कृषि कर्मलाई राम्रो देखेर राज्यको आँखा परेकामा खुसी लागेको उहाँको भनाइ छ । “लामो समयबाट कृषिमा लागेको थिए”, उनले भने, “तर मैले राज्यका तर्फबाट खास सहयोग पाएको थिइनँ । यो पटक भने राज्यले सहयोग गरेको छ । यसले मलाई थप हौसला मिलेको छ ।”
युवा लक्षित, महिला लक्षित, राजमार्ग लक्षित तरकारी खेती कार्यक्रम, नमूना कृषि कार्यक्रमलगायत योजनाहरु सञ्चालन गरेर कृषकलाई आवश्यक प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिरहेको कृषि ज्ञान केन्द्रका प्रमुख गणेश खत्रीले बताए । राज्यले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेपछि कृषिमा लाग्नेको सङ्ख्या बढेको उनको भनाइ छ ।
“व्यावसायिक रुपमा कृषिमा लागेका कृषकलाई हामीले आवश्यक सहयोग गर्दै आएका छौँ”, उनले भने, “राज्यबाट यस्ता खालका प्रोत्साहनका कार्यक्रम सञ्चालन भएपछि कृषिमा लाग्नेको सङ्ख्या यो जिल्लामा बढेको अवस्था छ । यसलाई अझ व्यवस्थित र प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर हामी लागिपरेका छौँ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी राजदूतले भने-स्वदेशी तथा विदेशी लगानी बढाउन नेपालको नीतिमा स्पष्टता जरुरी छ

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै पनि मुलुकको आर्थिक

हामी सरकार फेरबदलमा केन्द्रित नरहेको तर….

हेटौँडा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान व्यवस्था र संविधानको

विद्युत् उत्पादनको लक्ष्य प्राप्ति गर्न १२ वर्षमा  ६१ खर्ब लगानी आवश्यक

  काठमाडौँ ।  ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे टु प्रोस्पेरिटी’ विषयक प्राविधिक

लगानी सम्मेलनमा ५५ देशका लगानीकर्ता आउने

  काठमाडौँ ।  आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश