२१ प्रतिशतले घट्यो वस्तु निर्यात


 

काठमाडौं । सरकारले निर्यात प्रवद्र्धनका लागि सहजीकरण गरिरहेको भए पनि निर्यात लगातार घट्दो छ । आर्थिक वर्ष २०७९/८० मा नेपालको कूल निकासीमा २१ दशमवल चार प्रतिशतले ह्रास आएको छ ।

गत आर्थिक वर्षमा एक खर्ब ५७ अर्बको वस्तु निकासी भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले कूल पैठारीमा १६ दशमवल एक प्रतिशतले ह्रास आएको जानकारी दिए ।

गत आर्थिक वर्षमा  १६ खर्ब ११ अर्बको वस्तु आयात भएको थियो । गत आर्थिक् वर्षमा नेपालको कूल वैदेशिक व्यापारमा पनि गिरावट आएको छ । सो आर्थिक वर्षमा कूल  १७ खर्ब ८६ अर्बको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ दशमलव ६ प्रतिशतले कमी हो ।

“गत आर्थिक वर्षको प्रारम्भिक तथ्याङ्कअनुसार कूल व्यापारमा आठ दशमलव नौ प्रतिशत निकासी र ९१ प्रतिशत पैठारीको योगदान छ”, उनले भने, “समीक्षा अवधिमा नेपालको कूल निकासी २१ दशमलव चार प्रतिशतले ह्रास आएको छ ।”

आर्थिक वर्ष २०७८/७९ मा निकारी पैठारी व्यापारको अनुपात १ः९.६ रहेकामा गत आवमा सो अनुपात १ः१० पुगेको सचिव मरासिनीले जानकारी दिए । उनले व्यापार सन्तुलनका लागि व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना, २०७९ र नेपाल व्यापार एकीकृत रणनीति, २०८० को कार्यान्वयनका लागि सरोकारवाला निकायका सचिवसँग छलफल गरिएको बताए ।

उद्योगमन्त्रीको अध्यक्षतामा बोर्ड अफ ट्रेडको बैठक सम्पन्न भई नेपालको निर्यात व्यापार प्रवद्र्धनका सम्बन्धमा महत्वपूर्ण निर्णय भएको उनले जानकारी दिए ।