सुन तस्करी प्रकरणमा मेरो कुनै संलग्नता छैनः व्यवसायी मल्होत्रा


काठमाडौं । व्यवसायी दीपक मल्होत्राले त्रिभुवन विमानस्थलमा बुधबार बरामद गरिएको सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मल्होत्राले आफू संलग्न नभएको कार्यमा आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका हुन् । उनले गैरकानुनी कार्यमा संलग्न भएको बिना आधार र प्रमाण आक्षेप लगाई समाचार दिनु व्यवसायिक मर्यादाको घोर उल्लंघन भएको भन्दै त्यसविरुद्ध आफू कानुनी कारबाहीमा जाने बताए ।

उनले भने, ‘म संलग्न नभएको कार्यमा मेरो नाम उल्लेख गरेर समाचार लेख्ने पत्रकार र प्रकाशन गर्ने मिडियाले यस कार्यमा माफी नमागे र खण्डन प्रकाशन नगरे म कानुनी उपचारमा जाने जानकारी गराउन चाहन्छु ।’

उनले आफूले अहिलेसम्म कुनै निकायबाट सम्पर्क नभएको र प्रहरी प्रशासनले पनि सम्पर्क नगरेको बताएका छन् । समाचारमा नाम उल्लेख गरिएका व्यक्तिसँग व्यक्तिगत आफ्नो चिनजानसमेत नरहेको भन्दै आफैं कल्पना गरेर नाम मुछिएको उनको भनाइ छ । आफ्नो तस्बिरसमेत प्रकाशित गरेर सार्वजनिक जीवनमा प्रहार गरिएको उनले बताए ।

आफूले २०५५/५६ सालसम्म भन्सार तिरेर वैध तरिकाले सुनको व्यापार गरेको तर त्यसपछि त्यो छाडेर अन्य व्यापारमा लागेको मल्होत्राले बताए । अहिलेको प्रकरणमा आफ्नो संलग्नता पुष्टि भए नेपालको कानूनबमोजिम सजाय भोग्न तयार रहेको उनको भनाइ थियो ।