काठमाडौं महानगरको बजेट पारित


 

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नगरसभामा पेश गरेको बजेट शुक्रबार सर्वसम्मतले पारित भएको छ ।

महानगर उपप्रमुख सुनिता डङ्गोलले यही असार १० गते आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट नगरसभामा प्रस्तुत गरेका थिए । शुक्रबार बसेको नगरसभाको पाँचौँ बैठकमा महानगर प्रमुख बालेन्द्र साहले बजेटलाई निर्णयार्थ पेश गर्दा पारित भएको हो ।

महानगरको १३औँ नगरसभाको पहिलो बैठक असार ६ गते बसेको थियो । महानगरपालिकाले ल्याएको २५ अर्ब ५४ करोड ७८ लाख २० हजार बजेटमा चालुतर्फ  आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पूँजीगततर्फ  १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजन गरिएको छ ।

यही असार २१ गते बजेट पारित गर्न बोलाएको बैठकमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पर्याप्त छलफल नभएको र एकलौटी ढङ्गले बजेट विनियोजन गरेको भन्दै विरोध गरेपछि २६ गतेसम्म सारिएको थियो । असार २६ देखि सुरु भएको बजेटमाथिको छलफल शुक्रबार  सकाएर नगरसभाबाट पारित भएको हो ।

चालु आर्थिक वर्षको भन्दा आगामी आवका लागि कामपाले  करिब १४ करोडले बढी बजेट ल्याएको छ । आगामी आर्थिक वर्षमा बजेटमा स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकताका साथ विनियोजन गरिएको छ । पूर्वाधारमा सबैभन्दा धेरै  सात अर्ब ३४ करोड बजेट विनियोजन गरिएको छ । शिक्षामा  एक अर्श ३२ करोड र स्वास्थ्यमा  ९२ करोड ६६ लाख बजेट विनियोजन गरिएको छ ।

चालु आर्थिक वर्षमा जस्तै भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धन जस्ता विषयले बजेटमा स्थान पाएका छन् । आगामी आर्थिक वर्षका लागि कामपालाई सङ्घीय सरकारबाट दुई अर्ब १४ करोड ३१ लाख प्राप्त भएको छ ।

महानगर गौरवको योजनाका लागि  तीन अर्ब ८० करोड विनियोजन गरिएको छ । महानगर स्वर्णिम योजनाअन्तर्गत २५ विषयगत क्षेत्रका योजनाका लागि दुई अर्ब विनियोजन गरिएको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । वडाबाट प्राप्त योजनालाई प्राथमिकता प्राप्त योजनामा राखी त्यसका लागि  एक अर्ब ७६ करोड विनियोजन गरिएको छ ।