नेप्सेमा उच्च अंकको गिरावट, पाँच अर्ब आठ करोडको कारोबार


काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से ह्वात्तै घटेको छ । आइतबार नेप्से ५३ दशमलव ७० अङ्कले घटेको हो । नेप्से २ हजार ९७ दशमलव २९ बिन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा माइक्रो फाइनान्स, विकास बैंक र जलविद्युत् समूहको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । आज दुई सय ८६ वटा कम्पनीका एक करोड १३ लाख कित्ता शेयर कारोबार भएका छन् । जसमा पाँच अर्ब आठ करोड १९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्सको ४२ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज दुई सय सात वटा कम्पनीको शेयर घट्दा सृजनशील लघुवित्त र माउन्टेन इनर्जीको शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि बीपी डब्लू लघुवित्त र सिटी होटलको शेयर १० प्रतिशतले बढेको छ ।