बेलहिया (रुपन्देही) । भैरहवा भन्सार कार्यलयले गत जेठ १६ गतेदेखि एक सय रुपैयाँ भन्दा बढी मूल्यको समान ल्याउदा अनिवार्य भन्सार महसुल लिने व्यवस्थामा कडाइ गरेपछि प्रज्ञापनपत्र भर्नेको सङ्ख्या बढेको छ ।
प्रज्ञापनपत्रमा कडाइ नहुँदा घरयासी प्रयोजनका लागि भन्दै भारतबाट समान ल्याउनेको सङ्ख्या उल्लेख्य रहेकामा अनिवार्य भन्सार महसुल लिने व्यवस्थामा कडाइ गरेपछि प्रज्ञापनपत्र भर्नेको सङ्ख्या बढेको हो ।
भन्सार कार्यालयका प्रमुख मणिराम पौडेलले भने, “हामीले प्रज्ञापनपत्र नभरी कुनै पनि घरायासी होस् वा अन्य कुनै प्रयोजनको समान नेपाल ल्याउन दिएका छैनौँ । यसैले सर्वसाधरणले स्वतःस्फूर्त रुपमा प्रज्ञापनपत्र भरिरहनुभएको छ ।”
भन्सारको अभिलेख अनुसार जेठ १६ देखि जेठ मसान्तसम्मको अवधिमा ३० हजार तीन सय ६६ जनाले प्रज्ञापनपत्र भरेर समान लिएका छन् । गत वर्षको जेठ महिनाभरी तीन सय छ जनाले मात्रै प्रज्ञापनपत्र भरेर समान लिएको तथ्याङ्क छ ।
भन्सारको अभिलेखका अनुसार विसं २०७९ फागुनमा एक हजार दुई सय १५ जनाले, चैतमा एक हजार तीन सय ४४ जनाले प्रज्ञापनपत्र भरेका छन् । विसं २०८० वैशाखमा एक हजार एक सय ८३ र जेठमा तीन सय ५७ जनाले मात्रै प्रज्ञापनपत्र भरेका थिए । भन्सार व्यवस्थालाई कडाइ गरेपछि जेठ १६ देखि ३२ सम्मको १६ दिनको अवधिमा ३० हजार तीन सय ६६ जनाले प्रज्ञापन भरेका कार्यालयका प्रमुख पौडेलले जानकारी दिए ।
भन्सार कडाइप्रति उद्योगी व्यवसायीको समर्थन
भन्सार कार्यालयले प्रज्ञापनपत्र नभरी कुनैपनि समान नेपाल ल्याउन नदिने गरी कडाइ गरेपछि उद्योगी व्यवसायीका नेताले समर्थन जनाएका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजित एक कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले भन्सारमा कडाइ गरेपछि प्रारम्भिक रुपमा सीमावारीको व्यापारमा सकारात्मक प्रभाव परेको बताए ।
“भन्सारमा कडाइ गरेसँगै यसको सकारात्मक प्रभाव परेको छ भने साना व्यवसायीलाई धेरै राहत भएको छ । दीर्घकालीन असर केही समयमा देखिन्छ”, उनले भने । उनले चोरी तस्करीको सामान किन्ने व्यवसायीलाई प्रहरीले सहजै पक्राउ गर्न सक्ने बताए। “कसैले पनि तस्करीको समान नकिनौँ, कुनै व्यवसायीले बिल विजक बिनाको समान किनेमा प्रहरी प्रशासनले कारबाही गर्छ”, शर्माले भने ।
कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य राजेश अग्रवालले भन्सारमा गरिएको कडाइ सकारात्मक रहेको भन्दै चोरी तस्करी नियन्त्रणमा सबैको सहयोग जरुरी रहेको बताए । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कूलप्रसाद न्यौपानेले तस्करीको समान भैरहवा बुटवल मात्रै नभएर पाल्पा, गुल्मी, चितवन, काठमाडौँसम्म पुग्ने गरेकामा अब त्यो काम रोकिने बताए ।
उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रिय सदस्य महेन्द्रकुमार श्रेष्ठले भैरहवा भन्सारले गरेको कडाइले चोरी तस्करी मात्रै नभएर लागुऔषध र अन्य सामाजिक विकृतिमा पनि न्यूनीकरण गरिरहेको बताए ।
भैरहवामा जेठ १६ गतेदेखि सीमावर्ति भारतीय बजारबाट रू एक सय मूल्यभन्दा बढीको समान ल्याउँदा अनिवार्य संक्षिप्त प्रज्ञापनपत्र भरेर ल्याउने व्यवस्थामा कडाइ गरेपछि यसको असर सीमापारीको सुनौली नौतनवा बजारमा परेको छ । भारतीय व्यपारीहरुले नेपालमा भन्सार नगरी समान लैजान दिनुपर्ने भन्दै दुई दिन पहिले महापञ्चायत गरेका थिए ।
भन्सार नतिरी तस्करहरुले सीमापारीबाट अवैध रुपमा सामान ल्याइए बिक्री गरेको पाइएमा अवैध समान खरिद, बिक्री गर्ने व्यापारीलाई कारबाही गर्ने उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

प्रतिक्रिया