शेयर बजारमा लगातार बृद्धि


काठमाडौं । सोमबार पनि शेयर बजार नेप्से बढेको छ । सोमबार नेप्से आठ दशमलव १० अङ्कले बढेर एक हजार आठ सय ९१ दशमलव ३१ बिन्दुमा पुगेको छ ।

बैंक र व्यापार समूहको शेयर सामान्य घटेको छ भने बाँकी सबै समूहको शेयर उकालो लागेको छ । बजार बढे पनि कारोबार रकममा भने कमी आएको छ ।

आइतबार एक अर्ब ६० करोड रुपैयाँको शेयर कारोबार भएकोमा सोमबार २ सय ७२ वटा कम्पनीका ३४ लाख ९५ हजार कित्ता शेयर एक अर्ब २७ करोड ८७ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको ७ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशत र युनिलिभर नेपालको शेयर सात प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज ग्रिनलाइफ हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै साढे सात प्रतिशतले घटेको छ ।