अख्तियार ऐन संशोधन गर्न बनेको विधेयक संविधान अनुकुल बनाउन चेम्बरको माग


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार विस्तार गर्ने गरी संसदमा विचाराधीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक संविधान अनुकुल बनाउन सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाएको छ ।

सोमबार चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको टोलीले सभामुखलाई ज्ञानपपत्र बुझाउँदै अख्तियारले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न सक्ने व्यवस्थाप्रति आपत्ति जनाएको हो । अध्यक्ष मल्लले मुलुकको अर्थतन्त्र हाल जोखिममा रहेका बेला निजी क्षेत्र थप संकुचित हुने र निजी क्षेत्रलाई प्रतिकुल असर पर्ने कानुनी व्यवस्था नगर्न आग्रह गरेका छन् ।

चेम्बरले निजी क्षेत्रलाई नियमन गर्ने छुट्टै नियामक निकायहरु भएकाले अख्तियारको क्षेत्राधिकार भित्र पार्दा व्यवसाय नै ठप्प पर्ने जनाएको छ । ज्ञापनपत्र बुझ्दै सभामुख घिमिरेले निजी क्षेत्रमैत्री कानुन निर्माण गर्न आफूले प्रयत्न गर्ने बताए । सभामुखले विषयगत समितिहरु गठन प्रक्रियामा रहेकाले समितिमार्फत आफ्ना सुझावहरु दिन चेम्बरका पदाधिकारीको ध्यानाकर्षण गराए।