अध्ययनसँगै च्याउ खेती



भजनी । पाल्पाकी विपना खनाल कैलालीको टीकापुरमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा कृषि विज्ञान विषयको अध्ययनरत छिन् । उनी अध्ययन सँगसँगै आफ्नो पढाइ खर्चको केही रकम आफैं व्यवस्थापन गर्दै आएकी छन् ।

कलेजमा अध्ययन गर्ने केही साथीहरूको समूह बनाएर च्याउ खेती गर्दै आएकी उनीलगायतका साथीहरूले खाजा खर्चबापतको रकम जम्मा गरेर च्याउ खेती सुरु गरेका हुन् ।

‘भाडाको बसाइँ, सबै किनेर खानुपर्ने घरबाट पठाएको पैसाले नपुग्ने’, विपनाले भनिन्, ‘च्याउ खेतीबाट थोरै भए पनि आम्दानी हुने गरेको छ । त्यो आम्दानीले आफ्नो खाजा खर्च व्यवस्थापन भएको छ । कलेजको अतिरिक्त क्रियाकलापलाई चाहिने रकम व्यवस्थापन हुँदै आएको छ ।’

समूहमा जोडिएका अछाममा रमेश साउद मङ्गलबार र शुक्रबार कृषि हाटबजारमा व्यस्त देखिन्छन् । उसो त उनीहरुले कृषि हाटबजारमा साथीहरूको पालो लगाएका छन् । उनीहरु उत्पादन भएको च्याउ बिक्रीका लागि हाटबजारमा पुर्याउँछन् ।

उनीसँगै एकदुई जना अन्य साथीहरू पनि सँगै हुन्छन् । बजार मूल्यभन्दा १५ प्रतिशत सस्तोमा च्याउ बिक्रीको साइनबोर्डसमेत उनीहरुले स्टलको अगाडि राखेको हुन्छ । केही च्याउ बेच्न व्यस्त हुन्छन् भने केही आएका ग्राहकलाई कृषि तथा च्याउ खेतीको बारेमा बुझाउन पनि ।

प्रतिकेजी एक सय २० रुपैयाँमा च्याउ बिक्री हुने गरेको उनी बताउँछन् । ‘बजारको समस्या छैन । उत्पादन भएको च्याउ सहजै बिक्री हुन्छ । हप्तामा दुई दिन कृषि हाट बजारमा ४० देखि ५० केजी च्याउ बिक्री हुन्छ ।’ रमेशले भने ‘आम्दानी भएको रकम समूहमा जम्मा गर्छौं । कलेजको अतिरिक्त क्रियाकलापका लागि खर्च गर्छौं भने बाँकी बराबर भाग लगाउँछौँ ।’

प्रतिव्यक्ति पाँच हजार जम्मा गरेर कलेजभित्रै उनीहरुले च्याउ उत्पादन सुरु गरेका हुन् । प्लास्टिकको टनेल निर्माण गरेर सामूहिक काम गर्दै आएका विद्यार्थीले आफूले पनि तरकारी किनेर खानुपरेको छैन । बाँकी रहेको जमिनमा तरकारीसमेत विद्यार्थीले फलाएका छन् ।

आफूहरुको क्षेत्र पनि कृषि भएकाले सिजनअनुसार आम्दानी राम्रो हुने देखेपछि सामूहिकरुपमा काम थालिएको कुवेर जैशी बताउँछन् ।

‘आठ जनाको समूह बनाएर ४० हजारबाट च्याउ खेती सुरु गर्यौं । त्यसको परिणाम राम्रै भएको छ । एकातिर सिकाइ पनि भयो भने अर्कोतिर आम्दानी पनि । कुवेर भन्छन् , ‘उत्पादन भएको पहिलो लटको च्याउबाट हाम्रो लगानी उठेको छ । अहिलेसम्म तीन क्विन्टल च्याउ बिक्री गरेका छौँ । अझै त्यहीँ मात्रामा उत्पादन हुने आशा छ ।’

उनीहरुले च्याउ खेतीसँगै सिजनअनुसार अन्य तरकारी खेती गर्ने सोचसमेत बनाएका छन् । बिहानको समयमा कलेजमा हाजिर हुने बिद्यार्थी समूह फुर्सदको समयमा त्यहीँ बारीमा व्यस्त हुनेगरेका छन् ।

फुर्सदको समयको सदुपयोगले सिकाइसँगै आम्दानी हुन थालेपछि अन्य विद्यार्थी पनि समूहमा जोडिन चाहेको अर्जुन सिग्देल बताउँछन् ।

‘हामीले गरेको कामबाट हाम्रो समूह मात्रै सन्तुष्ट छैन । अन्य कक्षाका विद्यार्थीलाई सिक्ने अवसरसमेत मिलेको छ’, अर्जुनले भने, ‘कृषिलाई आधुनिकता र व्यावसायिक कसरी बनाउने, कस्तो माटोमा के लगाउँदा राम्रो उत्पादन हुन्छ त्यसको परीक्षण गरेर कृषि गर्दै आएका छौँ ।’

यसभन्दा पहिले उनीहरुले फूल खेतीसमेत गरेका थिए । फूल खेतीबाट ५० हजार आम्दानी गरेको आशिष धामीले बताए । यस वर्ष फूल खेतीलाई बढाउने सोचमा विद्यार्थी समूह छ । उनले बजारमा फूलको मागलाई पूरा गर्न नसकिएको भन्दै पाठ्यक्रमको अध्ययनभन्दा यस्तै कार्यक्रमबाट बढी सिकाइ हुने गरेको बताए । “फूल खेतीबाट पनि राम्रो उत्पादन गर्न सफल भएका थियौं । त्यो फूल खेतीले पनि हामीलाई थप कृषिमा लाग्न ऊर्जा दिएको हो”, उनी भन्छन्, “आज राम्रो हुँदै गएको छ । अध्ययन सकिएपछि पनि कृषिमै काम गर्नुपर्ने हुँदा समूहलाई निरन्तरता दिने गरी काम गर्ने सोच पनि छ ।”

कलेजमा अध्ययन गर्ने अधिकांश विद्यार्थी टीकापुर बाहिरका छन् । सबै भाडामा कोठा लिएर बसेका छन् । घरबाट पठाएको पैसाले खर्च धान्न नसकेपछि उहाँहरु कृषिमा आकर्षित हुँदै गएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वर्षाले विभिन्न जलविद्युत् आयोजनामा क्षति, माग धान्न ३०० मेगावाट विद्युत् भारतबाट आयात

काठमाडौँ । अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको

दूरसञ्चार र ‘इन्टरनेट’ सेवालाई निरन्तरता गर्न मन्त्रालयको निर्देशन

  काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार सेवा र ‘इन्टरनेट’ सेवा

उखु र दुध किसानको भुक्तानीका लागि दुई अर्ब निकासा

  काठमाडौँ । सरकारले उखु र दूध किसानको बक्यौता रकम भुक्तानीको प्रक्रिया अघि

कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा

भोजपुर। भोजपुरमा आफ्नै ठाउँमा कृषि उद्यम,व्यवसायमा लाग्ने युवाको संख्या बढेको छ । सरकारको