काठमाडौं । नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रम शुभारम्भ गरेको छ ।
दार्जुलाको सदरमुकाम खलङ्गामा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच डिजिटल वित्तीय साक्षरताको शुभारम्भ गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
सो अवसरमा गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समयमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै डिजिटल कारोबारलाई थप प्रवद्र्धन र प्रोत्साहन गर्न कार्यक्रमको सुरुवात गरिएको जानकारी दिए ।
“क्युआर कोडबाट मात्र मासिक ४२ लाखभन्दा बढी कारोबार भएको पाइएको छ । यो आफैँमा उत्साहजनक अवस्था हो । डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्नका निम्ति डिजिटल वित्तीय साक्षरता कार्यक्रमको सुरुआत हामीले गरेका हौँ”, उनले भने ।
डिजिटल कारोबारलाई ‘पारदर्शीताको मेरुदण्ड’को सङ्ज्ञा दिँदै गभर्नर अधिकारीले डिजिटल कारोबारबाट भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रवद्र्धनमा समेत टेवा पुग्ने बताए ।
सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’लाई कार्यान्वयन गर्दै डिजिटल अर्थतन्त्रको विकासका निम्ति विद्युतीय भुक्तानी कारोबारलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा उनले जोड दिए ।
डिजिटल कारोबारमा आउनसक्ने जोखिमप्रति सचेत रहनसमेत उनले सबैलाई अनुरोध गरे । विद्युतीय भुक्तानी कारोबारलाई प्रवद्र्धन र प्रोत्साहन गर्ने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले पछिल्ला वर्षहरूमा यससम्बन्धी नीतिगत व्यवस्थालाई अवलम्बन गर्दै आएको छ ।
आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा चालु आर्थिक वर्षलाई ‘विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन वर्ष’का रूपमा मनाउन आवश्यक संस्थागत समन्वय गरिनेसमेत उल्लेख गरिएको छ ।
यसैबीच, गभर्नर अधिकारीले आजै बैंक तथा वित्तीय संस्था, दार्चुला उद्योग वाणिज्य सङ्घ र कृषि ज्ञानकेन्द्र, दार्चुलाका प्रतिनिधिसँग छुट्टाछुट्टै भेटवार्ता गरी विविध विषयमा छलफल गरेका छन् ।
सोही क्रममा उनले सुदूरपश्चिम प्रदेशस्थित वाणिज्य बैंकका प्रदेश प्रमुख र दार्चुलास्थित बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुखसँग यस क्षेत्रको वित्तीय कारोबारको अवस्थाबारे प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिए ।

प्रतिक्रिया