राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘विराट एक्स्पो’ उद्घाटन


विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विराट एक्स्पो’ औद्योगिक व्यापार मेलाको सातौँ संस्करणको बिहीबार विराटनगर–१४ स्थित स्नातकोत्तर कलेजको चौरमा एक समारोहका बीच उद्घाटन गरेकी छन् ।

उनले औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउन यस्ता एक्स्पोले सहयोग पुग्ने बताइन् । राष्ट्रपति भण्डारीले मेलाले उत्पादक र उपभोक्ताबीच अन्तरसम्बन्ध स्थापित गर्ने र उत्पादनहरूको बजार विस्तार गर्ने कार्यमा महत्वपूर्ण योगदान गर्ने बताइन् ।

उनले एक्स्पोबाट उत्पादनको खरिद बिक्रीमात्र नभई उद्यमी व्यवसायीबीच अनुभव र सिकाइको आदान–प्रदान हुनेछ भन्दै छिमेकी मित्र राष्ट्रका उद्यमीहरूबीच पारस्परिक सम्पर्क विस्तार भई कृषि तथा औद्योगिक उत्पादनका सम्भावना खोजी गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।

उनले भनिन्, ‘यस औद्योगिक मेलाका माध्यमबाट यस क्षेत्रका पर्यटकीय गन्तव्य, कृषि, हस्तकला र औद्योगिक उत्पादनहरूको प्रवद्र्धनमा विशेष टेवा पुग्ने आशा राखेको छु ।’

राष्ट्रपति भण्डारीले विगत तीन वर्षदेखि कोभिड महामारीका कारण शिथिल हुनपुगेको मुलुकको आर्थिक गतिविधिलाई नयाँ उत्साह प्रदान गर्दै समग्र राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन यस किसिमका प्रदर्शनीले सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् ।

उनले नेपालको इतिहासमा विराटनगरको विशिष्ट र सम्मानित पहिचान छ भन्दै यस क्षेत्रका उद्यमीहरूले सामाजिक क्षेत्रमा गरेको योगदान सधैँ प्रशंसनीय रहेको बताइन् ।

राष्ट्रपति भण्डारीले औद्योगिक क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानका लागि सरकारको ध्यानाकर्षण गराइन् ।

विराटनगरलाई आर्थिकरूपमा चलायमान गराउन उद्योग सङ्गठन मोरङद्वारा सञ्चालित एक्स्पो पुस ६ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा विभिन्न स्वदेशी तथा विदेशी उत्पादनसहितका तीन सय ६१ वटा स्टल रहनेछन् ।