सरकारको चालु घाटा ३७ अर्ब १८ करोड


काठमाडौं । आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा वैदेशिक व्यापार घाटा दुई खर्ब ४४ अर्ब ९३ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार सो अवधिमा नेपालले कुल दुई खर्ब ७३ अर्ब ६० करोड बराबरको सामान आयात गरेको छ भने  २८ अर्ब ६८ करोड बराबरको सामान निर्यात गरेको छ ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सामान निर्यात ३४ दशमलव नौ प्रतिशतले घटेको छ भने आयात पनि १३ प्रतिशतले घटेको छ ।

गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यातमा क्रमशः ४५ दशमलव दुई प्रतिशत र २१ दशमलव छ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात १३ दशमलव दुई प्रतिशतले बढेको छ ।

जिङ्क शिट, ऊनी गलैँचा, पार्टिकल बोर्ड, तयारी पोसाक, आयुर्वेदिक औषधिलगायत वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, अलैँची, दन्त मञ्जनलगायत वस्तुको निर्यात घटेको छ ।

त्यसैगरी पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, औषधि, हवाइजहाज तथा स्पेयर पार्टपुर्जालगायत वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, कच्चा सोयाविन तेल, हट रोल्ड शिट इन क्वाइल, एमएस ब्लेटलगायत वस्तुको आयात घटेको छ ।

निर्याततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची र त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाहेक प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm सुख्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर र तातोपानी बाहेक अन्य प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।
सरकारको चालु खाता घाटा ३७ अर्ब १८ करोड
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिना अवधिमा सरकारको चालु खाता घाटा रु ३७ अर्ब १८ करोड पुगेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार भदौ मसान्तसम्ममा चालु खाता २९ करोड १७ लाख अमेरिकी डलरले घाटामा रहेको देखिएको हो ।

गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा चालु खाता घाटा एक खर्ब छ अर्ब आठ करोड बराबर रहेको थियो । त्यस्तै भदौ मसान्तसम्ममा शोधनान्तर स्थिति २३ अर्ब ६८ करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९४ अर्ब ८० करोडले घाटामा रहेको थियो । चालु आर्थिक वर्षको पहिलो दुई महिना अवधिमा विदेशी विनिमय सञ्चितिमा पनि कमी आएको छ ।

गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चितिमा दुई दशमलव दुई प्रतिशतले कमी आई भदौ मसान्तमा  ११ खर्ब ८९ अर्ब १६ करोड कायम भएको छ ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग  १० खर्ब ५१ अर्ब ५३ करोड र बैंक तथा वित्तीय संस्थासँग एक खर्ब ३७ अर्ब ६३ करोड रहेको छ । भदौ मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव तीन प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले नौ महिनाको वस्तु आयात र सात दशमलव सात महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ ।

यही अवधिमा विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ्य उत्पादन, कूल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपात क्रमशः २४ दशमलव पाँच प्रतिशत, ६४ दशमलव छ प्रतिशत र २१ दशमलव आठ प्रतिशत रहेको छ ।