काठमाडौं । नेपाल विद्युत प्राधिकरण र सशस्त्र प्रहरी बलबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा संचालन र सशस्त्र प्रहरी बल नेपालका विभिन्न इकाईहरुमा इन्डक्सन चुलोको प्रयोगमा सघाउ पुर्याउने सम्बन्धी सम्झौता भएको छ ।
गैर नविकरणीय उर्जा घटाई नविकरणीय उर्जा खपत बढाउने उद्देश्यले सम्झौता गरिएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हल्चोकमा शुक्रबार आयोजित कार्यक्रममा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले स्मार्टचार्जिङको अवधारणा अनुसार सशस्त्र प्रहरी बल नेपालसँग सम्झौता भएको उल्लेख गर्दै ग्याँसको खपत घटाउँदै विद्युत उपयोगलाई बढाउँदै लैजाने लक्ष्य अनुरुप प्राधिकरणले काम गरिरहेको बताए ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले यस प्रकारको सम्झौता प्राधिकरणसँग मिलेर काम गर्ने उपयुक्त अवसर भएको बताउँदै आगामी दिनमा समेत समन्वय र सहकार्य निरन्तर रहिरहने विश्वास व्यक्त गरे ।
सम्झौता अनुसार सशस्त्र प्रहरी बलका हाल संचालित २ वटा पेट्रोल पम्प तथा अन्य उपयुक्त स्थानहरुमा गरी कूल १७ स्थानमा चार्जिङ स्टेशन निर्माण गरिनेछ । विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माणमा लाग्ने सम्पूर्ण खर्च नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने छ भने त्यसको सुरक्षा तथा संचालन सशस्त्र प्रहरी बल नेपालले गर्ने सम्झौतामा उल्लेख छ ।
इन्डक्सन चुलो प्रयोगमा ल्याउन पहिलो चरणमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सवै बाहिनी मुख्यालय, तालिम शिक्षालय, गण र दोस्रो चरणमा सवै गुल्महरुको लागि प्राधिकरणबाट ट्रान्सफर्मर जडानको काम समेत हुनेछ ।

प्रतिक्रिया