काठमाडौं । दुई दिन लगातार उच्च अङ्कले बढेको शेयर बजार मंगलबार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से मंगलबार ४४ दशमलव ८० अङ्कले घटेर दुई हजार ८८ दशमलव १६ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेर बजार राताम्मे देखिएको छ ।
बजारसँगै कारोबार सङ्ख्या र रकम पनि घटेको छ । सोमबार चार अर्ब रुपैयाँभन्दा धेरेको कारोबार भएकोमा आज दुई सय २२ वटा कम्पनीका ८७ लाख ४० हजार कित्ता शेयर तीन अर्ब ७० करोड ४९ लाख रुपैयाँमा कारोबार भए ।
सबैभन्दा धेरै शिवम् सिमेन्टको १९ करोड ३६ लाख र अरुण काबेली हाइड्रोको १५ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो । मंगलबार गणपति लघुवित्त कम्पनीको शेयर झन्डै सात प्रतिशतले घटेको छ ।
रिभर फल्स पावर कम्पनी, सबैको लघुवित्त, पोखरा फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि मल्टिपर्पोज फाइनान्सको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया