फेरि घट्यो शेयर बजार


काठमाडौं । पछिल्लो समय लगातार सामान्य बढिरहेको शेयर बजार बिहीबार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से बिहीबार पाँच दशमलव ८७ अङ्कले घटेर दुई हजार ४४ दशमलव ७२ विन्दुमा झरेको छ ।

बिहीबार बैंकिङ र अन्य समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर घटेको छ । दुई सय २५ वटा कम्पनीका ३९ लाख आठ हजार कित्ता शेयर एक अर्ब ६४ करोड २६ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको १७ करोड रुपैयाँको शेयर किनबेच भयो । बिहीबार किसान लघुवित्तको शेयर झन्डै साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सेन्ट्रल फाइनान्सको शेयर भने तीन प्रतिशतभन्दा धेरैले बढेको छ ।