काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०७९/८० को बजेट सकारात्मक भए पनि कार्यान्वयनको पाटो चुनौतीपूर्ण भएको जनाएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा प्रस्तुत गरेको बजेटको सन्दर्भमा चेम्बरले सोमबार विज्ञप्ति जारी गर्दैै बजेट सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती भएको जनाएको हो ।
सरकारले ल्याएको १७ खर्ब ९३ अर्ब ८३ करोड बजेटको आकार ठूलो भएको चेम्बरले जनाएको छ । चालू आर्थिक वर्षमा १६ खर्ब ३३ अर्बको बजेट ल्याए पनि खर्च गर्न नसकेर संशोधनमार्फत १४ खर्ब ४७ अर्ब ५१ करोडको बनाइएको भन्दै चेम्बरले बजेट यथार्थतामा आधारित हुन नसकेको जनाएको हो ।
ठूलो आकारको बजेट घोषणा गर्ने तर खर्च गर्नका लागि संरचनागत सुधार हुन नसक्दा आगामी आर्थिक वर्षमा आठ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न कठिनाइ हुने चेम्बरले उल्लेख गरेको छ । बजारमा तरलता समस्या अझै सम्बोधन हुन नसकेको, पूँजीगत खर्च हुन नसकेको तथा मूल्यवृद्धिका कारण लक्ष्य भेट्न कठिनाइ भएको चेम्बरको ठहर छ ।

प्रतिक्रिया