सौराहाका होटल व्यवसायीद्वारा पर्यटक लक्षित प्याकेज सार्वजनिक



चितवन । गत वर्षको चैतयता कोभिड–१९ का कारण व्यवसाय गर्न नपाएका सौराहाका होटल व्यवसायीले नेपाली पर्यटक लक्षित प्याकेजहरू सार्वजनिक गर्न थालेका छन् । ठूलो नोक्सान व्यहोरिसकेका व्यवसायी अब पर्यटक आउनेमा आशावादी भएका छन् ।

आन्तरिक पर्यटकलाई लक्ष्य गरी सस्तो मूल्यमा प्याकेज सार्वजनिक गर्न थालिएको हो । होटल नचल्दासमेत कोठा सरसफाइ गरिरहनुपर्ने हुन्छ ।

सौराहाका युवा व्यवसायी सुमन घिमिरेले कोभिडका समयमा ‘पे नाउ, गो लेटर’ प्याकेजमार्फत ३०० जनाभन्दा बढीको बुकिङ गराएका थिए । यी पाहुना यस वर्ष आउनेछन् । उनले भने, “गएको असारमा मलाई बैंकको ब्याज, किस्ता र अन्य खर्चमा समस्या भएन ।” उनका पाहुनाले असारअघि नै रकम जम्मा गरिसकेका छन् । यस वर्ष उनीहरू भ्रमणमा आउनेछन् ।

जङ्गल सफारी लजका सञ्चालक घिमिरेले यसपालिको दशैँ–तिहार सौराहा अफर सार्वजनिक गरेका छन् । दुई रात तीन दिनको यो प्याकेजमा एउटा लञ्च, दुईवटा डिनर र दुईवटा ब्रेकफास्टसँगै पर्यटकलाई थारू संस्कृति, थारू म्युजियम र हात्ती प्रजनन केन्द्र घुमाइने छ । होटल एशोसिएशन नेपालका सदस्य ज्ञानेन्द्रकुमार विष्टको रेन फरेष्टमा पनि यो प्याकेज घोषणा गरिएको छ ।

विष्टले भने, “हामीले दशैँ–तिहारलक्षित प्याकेज सार्वजनिक गरेका छौँ ।” उनको प्याकेजमा एक रात दुई दिनको चार हजार ४४४ पर्दछ । जसमा एक–एकवटा लञ्च, डिनर र ब्रेकफाष्ट पर्दछन् । यससँगै जीप वा हात्ती सफारीमध्ये एक र कल्चरल डान्स प्याकेजमा पर्दछ ।

होटल सेभेनस्टारले दशैँ–तिहार अफर ४० प्रतिशत छुट गरेको छ । कोठामा यो छुट गरिएको हो । होटलका प्रबन्ध निर्देशक माधव दुवाडीले खानामा पनि १० प्रतिशत छुट गरिएको बताए । कर्पोरेट कार्यक्रममा पनि विशेष छुट दिइएको उनले जानकारी दिए । छुटसँगै कार्यक्रम आइरहेका दुवाडी बताउँछन् । उनले भने, “कर्पोरेट कार्यक्रम, विवाहसँगै कोठा बुकिङ हुन थालेका छन् ।” भारतीय र मारवाडी समुदायको विवाहको बुकिङ भएको दुवाडीको भनाइ छ ।

क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलिया धेरै होटलले केही सस्तोमा नेपाली पर्यटक लक्षित प्याकेज सार्वजनिक गर्न थालेको बताउँछन् । उनले भने, “अब पर्यटक आउँछन् भन्नेमा हामी आशावादी रहेका छौँ ।”

राष्ट्रियरूपमा नै सौराहामा अन्य समयको तुलनामा अफरमार्फत आन्तरिक पर्यटकलाई छुटको व्यवस्था भएको सन्देश पुर्याइदिन उनको आग्रह छ । आन्तरिक पर्यटक भित्राउन सकेमा होटल टिक्ने उनी बताउँछन् । सौराहामा ११० होटल र १०० हाराहारी रेष्टुरेराँ रहेका छन् ।

रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान)का अध्यक्ष दीपेन्द्र खतिवडाले अब रेष्टुरेन्ट साँझ अबेरसम्म चल्न पाउने भएसँगै छुटका अफर ल्याउने विषयमा छलफल थालिएको बताए । कोभिड घटेको र चाडपर्व आएकाले अब पर्यटक आउनेमा आफूहरू आशावादी भएको खतिवडाको भनाइ छ । उनले भने, “जे–जति नोक्सान हामीले बेहोर्यौं अब नहोलाजस्तो लाग्छ ।”

आन्तरिक पर्यटकलाई लक्षित गरी नेपाली परिकारको गुणस्तर विकास गर्नेतर्फ व्यवसायी लागेको उनले जानकारी दिए । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराईले अधिकांश होटलले आन्तरिक पर्यटक लक्षित गरेर प्याकेज सार्वजनिक गरेको बताए । कतिपयले प्याकेज बनाएका छन् भने कतिपयले एकमुष्ट छुट दिएको उनको भनाइ छ ।

गत वर्षको चैतयता होटल बन्द हुँदा ठूलो नोक्सान व्यहोरेका व्यवसायीले अब होटल खुल्दै गर्दा आन्तरिक पर्यटकलाई आकर्षित बनाएर व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्काउन लागिरहेको उनी बताउँछन् । चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारीबाहेकका सबै गतिविधि सञ्चालनमा रहेका छन् । निकुञ्जमा दुर्लभ वन्यजन्तु हेर्न यहाँ पर्यटक आउने गर्दछन् । निकुञ्जको मुख्य प्रवेशद्धार सौराहा हो । यो देशकै पर्यटकीय गन्तव्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले युरोपेली युनियन (ईयू) को

विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न ६२ खर्ब लगानी आवश्यक पर्ने

काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादनको

६ महिनाको मध्यपुरथिमि नगरपालिकाको आम्दानी १४ करोड

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा १४ करोडभन्दा बढी

भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु, उद्योगमन्त्री भण्डारीद्वारा उद्घाटन

काठमाडौँ। नेपाल उड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दसौँ संस्करण आजदेखि भृकुटीमण्डपमा