सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । असार एकमा आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेट पारित भएको हो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र एमालेको केपी ओली समूहको असहमतिका बीच ३० अर्ब ३३ करोड बराबरको बजेट सोमबार बिहान बसेको प्रदेशसभाको बैठकबाट बहुमतले पारित भएको हो ।
सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षको समर्थनले बजेट पारित भएको हो। यसअघि बजेटमाथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिदै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले वार्षिक कार्यक्रम पुस्तिकामा दोहोरो परेका, रकम, नाम र ठेगाना फरक परेका योजनाहरु तत्काल सच्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।