अर्थ मन्त्रालय र विश्व बैंकबीच सहुलियत ऋण उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर
काठमाडौं । नेपालको उत्थानशील पुनरुत्थानका लागि नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सरकार र विश्व बैंकबीच कोभिड १९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अतिविपन्न र जोखिममा रहेकाहरुको संरक्षण एवं दिगो विकास हासिल गर्न नेपाललाई १५ करोड अमेरिकी डलर (१५० मिलियर डलर) बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्बन्धी वित्तीय सम्झौतामा हस्ताक्षर भएको हो ।
आइतबार भएको सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर कार्यक्रममा अर्थ मन्त्रालयका सचिव ढुंगानाले यो सम्झौता अन्तर्गत प्राप्त हुने रकम कोभिड–१९ बाट प्रभावित भएको अर्थतन्त्रलाई पुनर्जीवन दिन, आर्थिक गतिविधिलाई तिव्रता दिन र हरित वृद्धिलाई सहयोग गर्नेगरी कार्यक्रम सञ्चालन गरिने बताए । चालु आर्थिक वर्षमै विनियोजन गरिएको पूर्वाधार निर्माण तर्फको खर्चको लागि यो रकम यसै आर्थिक वर्षभित्र परिचालन हुने पनि उनले बताए ।
विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले यस आयोजनाले कोभिड–१९ को महामारीका बेला र महामारी पछि पनि नेपालमा दीगो वृद्धि हासिल गर्न सहयोग गर्ने बताए ।