कानुन निर्माण गर्दा स्वदेशी उत्पादनलाई प्रोत्साहन गरिने अर्थमन्त्रीको भनाई
काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल औद्योगिक विकासमा अघि बढेको भन्दै कानुन निर्माण गर्दा स्वदेशी उत्पादनलाई प्रोत्साहन गरिने बताएका छन् । बुधबार बसेको संसदको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा उनले प्रतिस्पर्धा कुण्ठित हुने गरी कुनै पनि खरिद नहुने बताए ।
खतिवडाले खरिद विधिलाई व्यवस्थित गर्न सरकारले कानुन संशोधनको तयारी गरेको पनि जानकारी दिए । मन्त्री खतिवडाले उद्योगीहरूले पहिले कच्चा पदार्थ र तयारी वस्तुमा एक तहको भन्सार अन्तर कायम हुनुपर्ने माग गर्ने गरेकोमा अहिले दुई तहको अन्तर माग गर्न थालेकाले यसले महङ्गी बढ्न सक्ने धारणा राखे । वस्तुमा अनावश्यक संरक्षण दिए मूल्यबृद्धि हुने र उपभोक्ता पनि मारमा पर्ने उनले बताए । खतिवडाले न्यूनतम १० प्रतिशतदेखि बढीमा २० प्रतिशतको संरक्षणमा उद्योगहरू प्रतिस्पर्धी हुन सक्नुपर्ने स्पष्ट पारे ।
खतिवडाले दातृ निकायबाट ऋण लिँदा भन्सार छुट दिइने भनेर सम्झौता गरिने भएकाले त्यसले समस्या सिर्जना भएको पनि उल्लेख गरे । छलफलमा नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीप कुमार श्रेष्ठले उद्योगका लागि आयात गरिने कच्चा पदार्थ र तयारी बस्तुको भन्सार फरक हुँदा समस्या देखिएको बताए । स्वदेशी उद्योगलाई आत्मनिर्भर गर्नका लागि भन्सारमा देखिएको अव्यवहारिक सर्तलाई पुनरावलोकन गर्नुपर्ने सुझाव दिए ।
बैठकमा समिति सदस्यहरुले नेपालमा आयातलाई न्युनिकरण गर्दै स्वदेशी बस्तुहरुलाई प्रोत्साहन गर्ने नीति आउनुपर्ने बताएका थिए । छलफलपछि समिति सभापति बिमल श्रीवास्तवले यसबिषममा थप अध्ययन गरेर सरकारलाई आवश्यक निर्देशन दिने जानकारी दिए ।