पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै नेविसंघद्वारा निगमलाई ज्ञापनपत्र
काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै नेपाल आयल निगममा ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष राजीव ढुंगानाको नेतृत्वमा गएको टोलीले बुधबार नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेललाई ज्ञापन पत्र बुझाएको हो ।
लकडाउनले आम उपभोक्ताको आम्दानी घटेका बेलामा मूल्यवृद्धि गर्नु अमानवीय भएको नेविसंघले बताएको छ । लकडाउनको ३ महिनाको अवधिमा मात्र ३ अर्ब नाफा गरेको निगमले अन्तर्राष्ट्रिय बजारमा थोरै मूल्यवृद्धि हुँदा पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ मूल्यवृद्धि गर्नु गलत भएको धारणा संघले व्यक्त गरेको छ ।
संघले बुझाएको ७ बुँदे सुझावसहितको ज्ञापनपत्रमा स्वचालित मूल्यलाई पूर्णरुपमा पालना गर्नुपर्ने, लकडाउनमा जनतालाइ सहुलियत दिनुपर्नेलगायतका बिषय समेटिएको छ ।
ज्ञापन पत्र बुझ्दै निगमका कार्यकारी निर्देशक पौडेलले नाफा कमाउने नियतले मूल्यबृद्धि नगरिएको बताए । सरकार कालोबजारीमा नलाग्ने भन्दै उहाले लकडाउनको अवधिमा सहूलियत दिएका दाबी गरे । तीन महिनाको अवधिमा ३ अर्ब नाफा कमाएको आयल निगमले विश्व बजारमा मूल्य बढ्दैमा ५ रुपैयाँ बढाउनु गलत भएको संघको भनाई छ ।