कोरोना कहरका बेला पानीजहाज कार्यालयले डेढ करोड रुपैयाँको गाडी खरिद गर्ने
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको नेपाल पानीजहाज कार्यालयले डेढ करोड रुपैयाँबराबरको गाडी खरिद गर्ने भएको छ । कार्यालयले एक करोड ४३ लाख ९८ हजार रुपैयाँमा दुई गाडी खरिदका लागि टेन्डर स्वीकृत गरेको छ । कार्यालयले सिप्रदी ट्रेडिङलाई गाडी किन्न ठेक्का दिएको सूचना प्रकाशित गरेको छ ।
कार्यालयले गत फागुन ८ गते सूचना प्रकाशित गर्दै दुईवटा गाडी खरिदका लागि टेन्डर आह्वान गरेको थियो । कार्यालयले चारपांग्रे एसयूभी गाडी किन्न लागेको हो ।
मुलुक कोरोना भाइरस संक्रमणविरुद्ध लड्न खर्च अभाव हुनसक्ने भन्दै अर्थ मन्त्रालयले विभिन्न १४ शीर्षकमा खर्चमा प्रतिबन्ध लगाएको छ । उक्त प्रतिबन्धअनुसार कुनै पनि निकायले चालु आर्थिक वर्षमा नयाँ सवारीसाधन किन्नमा रोक लगाइएको छ ।