भाषा संरक्षणबाट व्यावसायिक यात्रातर्फ गुरुङ चलचित्र


लमजुङ  । गुरुङ समुदायको भाषा, संस्कार र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले दुई दशकअघि सुरु भएको गुरुङ चलचित्र यात्रा अहिले नयाँ मोडमा आइपुगेको छ ।

कुनै समय भाषा र पहिचान जोगाउने अभियानका रूपमा मात्र विकास भएको यो क्षेत्र अहिले गुणस्तरीय निर्माण, आधुनिक प्रविधि र व्यावसायिकतामा केन्द्रित हुन थालेको छ ।

चलचित्र निर्माणको सङ्ख्या विगतको तुलनामा घटे पनि निर्माण भएका चलचित्रको स्तर उकास्ने प्रयास जारी छ ।

लमजुङ, कास्की, मनाङ, स्याङ्जा, तनहुँ, गोरखा र आसपासका जिल्लामा गुरुङ भाषाका चलचित्र निर्माण हुँदै आएका छन् र गाउँगाउँमा प्रदर्शन गरिने यस्ता चलचित्रले समुदायको जीवनशैलीलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेका छन् ।

पछिल्लो समय दर्शकको रुचि, प्रविधिको विकास र चलचित्र बजारमा आएको परिवर्तनसँगै गुरुङ चलचित्र क्षेत्र विस्तारै व्यावसायिक यात्रातर्फ अघि बढेको छ ।

विगतमा समुदायको सेवाभावले मात्र चलचित्र निर्माण हुने गरे पनि अहिले राम्रो कथा, दक्ष कलाकार र आधुनिक प्रविधिमा लगानी गर्ने प्रवृत्ति बढेको छ । यो परिवर्तनसँगै कलाकारहरूको पारिश्रमिकमा पनि ठूलो सुधार आएको छ ।

विसं २०५७ मा ‘मान्छेको मन’ चलचित्रबाट अभिनय यात्रा सुरु गरेका घलेगाउँका गमन घलेले पहिलो चलचित्रमा रु १,६०० पारिश्रमिक पाएकोमा अहिले एउटै चलचित्रबाट रु तीन लाखसम्म पाउने अवस्था बनेको जानकारी दिए ।

त्यस्तै, विसं २०६५ देखि यस क्षेत्रमा सक्रिय कलाकार विष्णु गुरुङले हाल प्रदर्शन भइरहेको चलचित्र ‘मुख्या’का लागि रु एक लाख ५० हजारभन्दा बढी पारिश्रमिक लिएको र आगामी असोजदेखि छायाङ्कन हुने ‘मुख्या–२’ मा थप पारिश्रमिक पाउने अपेक्षा रहेको सुनाए ।

पहिलो चलचित्र ‘मैँ’ बाट अभिनय यात्रा सुरु गरेकी चर्चित कलाकार खुसी गुरुङले पनि नयाँ पुस्ताले आफ्नो संस्कृति नबिर्सोस् भनी आफू यस क्षेत्रमा निरन्तर लागिपरेको बताइन् ।

यस्तै, नयाँ पुस्ताका लोकप्रिय कलाकार मनोज गुरुङ र तीन वर्षअघि ब्लगिङबाट यस क्षेत्रमा प्रवेश गरेकी नवोदित कलाकार धनकुमारी गुरुङ पनि संस्कृति जोगाउने नाममा कलाकारले सधैँ निःशुल्क काम गर्नुपर्छ भन्ने सोच परिवर्तन हुनुपर्ने र श्रमको उचित मूल्य पाउनुपर्ने धारणा राख्छन् ।

दोर्दी गाउँपालिका–८ का निर्देशक तथा निर्माता खुशबहादुर गुरुङका अनुसार कोरोना महामारी अघि बर्सेनि १० देखि १२ वटा गुरुङ चलचित्र निर्माण हुने गरेकोमा अहिले यो सङ्ख्या घटेर वर्षमा ५ देखि ७ वटामा सीमित भएको छ ।

पछिल्लो पुस्तामा गुरुङ भाषाको प्रयोग घट्दै जानु र विभिन्न जिल्ला अनुसार भाषाको लवज फरक हुँदा दर्शक सीमित हुनु यस क्षेत्रको मुख्य चुनौती हो । यसैलाई मध्यनजर गर्दै गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) ले गुरुङ भाषामा निर्माण भएका चलचित्रलाई प्रोत्साहन गर्ने व्यवस्था गरेको छ ।

चुनौतीका बिच पनि प्रविधिको विकास र व्यावसायिक सोचका कारण गुरुङ चलचित्रले नयाँ सम्भावना खोज्दै बलियो आधार निर्माण गरिरहेको छ ।