– खेमराज गौतमगलकोट (बागलुङ) । साँझ पर्नै लाग्दा बागलुङ बजारको नारायणचोकमा एउटा अर्कै रौनक छाउँछ। मादल र झ्यालीको ताल जतिजति तीव्र बन्छ, रातो पोशाकमा सजिएका १३ जोडी अर्थात् २६ जना युवाको शरीरमा एउटा अलौकिक कम्पन सुरु हुन्छ। शरीरभरि सिन्दुरे रङ, शिरमा ‘श्रीराम’ लेखिएको रातोपट्टी र कम्मरमा बाँधिएको चार फिट लामो पुच्छर। जब यी हनुमानले हातका लठ्ठी एकसाथ भुइँमा ठोक्छन्, सिङ्गो बागलुङ बजार तीन सय वर्ष पुरानो इतिहासमा फर्किए झैँ लाग्छ।
नाचको बीचैमा अचानक केही कलाकारको भावभङ्गी परिवर्तन हुन्छ। उनीहरू नियन्त्रण बाहिर गएर उफ्रन थाल्छन्। दर्शकहरू मुखामुख गर्छन्, ‘हनुमानमा वीर उत्रियो !’ यो कुनै साधारण नृत्य मात्र होइन, यो त आस्था, शक्ति र प्राचीन इतिहासको यस्तो सम्मिश्रण हो, जसले बागलुङलाई नेपालको सांस्कृतिक नक्सामा एउटा विशिष्ट पहिचान दिएको छ। भक्तपुरबाट सुरु भई पहाडी जिल्ला बागलुङमा प्रचलित हनुमान नाच तीन शताब्दीदेखि कसरी जीवित छ ? यसको गर्भभित्र लुकेका सङ्घर्ष र पुस्तान्तरणका कथा आफैँमा एउटा जीवन्त इतिहास हुन्।
भक्तपुरदेखि बागलुङसम्मको तीन सय वर्षे सेतु
मल्लकालीन समयमा भक्तपुरबाट सुरु भएको मानिने ‘हनुमान नाच’ अहिले भक्तपुरमै हराउन लागिस, केको छ तर व्यापारको सिलसिलामा बागलुङ झरेका नेवार समुदायले यसलाई आफ्नो मुटुको धड्कन बनाएर जोगाएका छन्। रामायणको कथा, हनुमानको वीरता र मल्लकालीन वैभवलाई एउटै सुत्रमा उनेको यो नाच बागलुङमा मात्र किन यति व्यवस्थित छ ? धार्मिक आस्था, सांस्कृतिक पहिचान र पुस्तान्तरणको कठिन चुनौतीबीच तीन सय वर्ष पुरानो यो परम्परा कसरी जोगिएको छ भन्ने खोजीको विषय बन्नसक्छ। यो केबल एउटा नाचको कथा होइन, यो त एउटा समुदायले आफ्नो जरा जोगाउन गरेको तीन शताब्दी लामो सङ्घर्षको दस्तावेज हो।
हनुमान नाच ऐतिहासिक रूपमा पुरुषप्रधान रहँदै आएको छ। हनुमानका रूपमा महिलाले नाच्ने परम्परा बागलुङमा छैन। पूजा विधि र शारीरिक बलका कारण देखाउँदै महिलालाई यो नाचमा सहभागी गराइएको छैन। यद्यपि, नेवार समुदायभित्र यसबारे विस्तारै छलफल सुरु भएको छ। संरक्षण परिषद्का अनुसार महिला व्यवस्थापकीय काम र पूजा सामग्री तयारीमा सङ्घर्षपूर्ण र महत्वपूर्ण भूमिका निर्वाह गर्छन् तर नृत्यमा उनीहरूको सहभागिता अझै बर्जित छ।
ऐतिहासिक लिखतः १८ रुपैयाँ ५० पैसाको त्यो हिसाब
हनुमान नाचको प्राचीनताबारे मौखिक दाबी धेरै भए पनि यसको लिखित प्रमाण खोज्ने काम बागलुङका प्राज्ञ प्रेम छोटाले गर्नुभएको छ। उनको अनुसन्धान अनुसार १७६८ सालतिर भक्तपुरबाट नेवार समुदाय व्यापारका लागि बागलुङ आएका थिए। त्यतिबेलै उनीहरूले आफ्नो कुल देवता र संस्कृतिसँगै हनुमान नाच पनि सँगै ल्याएका हुन्।
छोटाले आफ्नो पुस्तक ‘हनुमान नाच बागलुङको सांस्कृतिक पहिचान’ मा १९३३ सालदेखि १९४२ सालसम्मको एउटा लिखत फेला पार्नुभएको छ। यसमा हनुमान नाचका लागि १८ रुपैयाँ ५० पैसा आम्दानी र १८ रुपैयाँ २५ पैसा खर्च भई २५ पैसा बचत भएको उल्लेख छ। प्राज्ञ छोटा भन्छन्, “म अहिले ८२ वर्षको भएँ, मैले २०२१ सालमा आफैँ हनुमान नाच नाचेको थिएँ। यो नाचको शास्त्रीय विधि र १० वटा तालको छन्द बागलुङमा जस्तो अन्त कतै भेटिँदैन।” यसले के पुष्टि गर्छ भने बागलुङको हनुमान नाच केबल मनोरञ्जन होइन, यो त प्रामाणिक ऐतिहासिक सम्पदा हो। १९३३ सालभन्दा अघिको लिखित दस्तावेज फेला नपरे पनि यो परम्परा त्योभन्दा धेरै पुरानो भएको उनको दाबी छ। १९३३ सालको एउटा पुरानो लिखतमा हनुमान नाच सञ्चालन गर्न १८ रुपैयाँ ५० पैसा खर्च भएको विवरण भेटिएको छ। तीन शताब्दी पुरानो यो परम्परा अहिले १५ देखि २० लाख रुपैयाँ खर्च हुने भव्य र चुनौतीपूर्ण सांस्कृतिक उत्सवमा रूपान्तरण भइसकेको छ।
रामायणको गाथा र हनुमानको वीरताको उदय
हनुमान नाचको उदय पौराणिक ग्रन्थ रामायणको कथासँग जोडिएको छ। भगवान् रामकी पत्नी सीतालाई रावणले हरण गरी लङ्का पु¥याउँदा हनुमानले देखाएको वीरता र पराक्रमको खुसियालीमा यो नाच नाच्ने गरिन्छ। विशेषगरी लक्ष्मण मुर्छित हुँदा हनुमानले सञ्जीवनी बुटिका लागि सिङ्गो द्रोणाचल पर्वत नै उचालेर ल्याएको र लक्ष्मणको ज्यान बचाएको खुसियालीमा यो नाचको परिकल्पना गरिएको विश्वास गरिन्छ।
धार्मिक मान्यताअनुसार हनुमान नाच देखाउनाले सहरमा अनिकाल नपर्ने, महामारी नफैलिने र दैवी विपत्तिबाट जोगिने जनविश्वास छ। नेवार समुदायमा हनुमानलाई शक्तिको प्रतीक मानिन्छ। यो नाच नाच्दा कलाकार र बाद्यवादक दुवैले कडा अनुशासन र शुद्धता पालना गर्नुपर्ने हुन्छ। हनुमानको भेषधारण गरेका युवाको एक हुल साँझपख बागलुङ बजारका गल्ली र चोकमा एकसाथ देखिँदा वातावरण नै भक्तिमय बन्छ।
हनुमान नाचका १० ताल सङ्गीत र नृत्यको व्याकरण
बागलुङको हनुमान नाचको सबैभन्दा बलियो पक्ष यसको ‘ताल’ हो। अनुसन्धानकर्ता ईश्वर मेलेपतिका अनुसार यो नाच १० वटा फरकफरक तालमा नाचिन्छ। प्रत्येक तालको आफ्नै स्वर, धुन र नाचको गति हुन्छ। कलाकारहरूले करिब दुई इञ्चको मोटाइ भएको १.५ फिट लामो गोलो आकारको डण्डीको एक छेउको टुप्पा भूइँमा टेकाइ अर्को छेउमा आफ्नो दुवै हातले टेकी घोप्टो अवस्थामा अनुशासित ढङ्गबाट अखेडा बसेर तालमा नाच्न सुरु गर्छन्।
यस नाचका १० तालमध्ये सलामी तालमा नाचको सुरुमा दर्शक र देवतालाई अभिवादन गरिन्छ। छ ताल र आठ ताल नाचको गति बढाउने तालहरू हुन् भने १२ ताल र १६ तालमा हनुमानको उफ्रिने शैली र लठ्ठी ठोक्ने कला हुन्छ। घेरा हाल्ने तालमा सबै हनुमान गोलाकार घेरामा बसेर नाच्ने गरिन्छ। भजन तालमा धार्मिक भावमा नाचिन्छ भने सबैभन्दा लामो र कठिन ताल भनेर चौबिस ताललाई लिने गरिन्छ। त्यस्तै नाच समापन गरी फर्कने बेलाको ताल प्रस्थान ताल हो। यसरी १० वटा छन्दमा बाँधिएको यो नाचलाई पूर्णता दिन कलाकारले महिनौँसम्म कठिन तालिम लिनुपर्ने हुन्छ। बागलुङका नेवार समुदायले यो नाचको छन्दलाई जसरी जोगाएका छन्।
‘वीर’ चढ्ने रहस्य र पुजारीको भूमिका
हनुमान नाचको सबैभन्दा रोमाञ्चक र आश्चर्यजनक पक्ष ‘वीर’ चढ्नु हो। नाचका क्रममा कतिपय कलाकारको शरीरमा अचानक कम्पन पैदा हुन्छ। उनीहरू अचेत झैँ बनेर उफ्रन थाल्छन्। स्थानीय विश्वासअनुसार जब पूजा विधिमा केही कमी हुन्छ वा नाचको शुद्धतामा आँच आउँछ, तब हनुमान ‘प्रसन्न’ वा ‘क्रोधित’ भएर वीरको रूपमा प्रकट हुन्छन्।
यो स्थिति नियन्त्रण गर्न पुजारी बद्री श्रेष्ठको भूमिका महत्वपूर्ण हुन्छ। उनी वीर चढेका हनुमानलाई धूप सुँघाउँछन् र मन्त्रोच्चारण गर्छन्। श्रेष्ठ भन्छन्, “वीर चढेको हनुमानलाई दुई–तीन जना बलिया युवाले पनि समाउन सक्दैनन्। जब म धूप सुँघाउँछु, उनीहरूको शरीरको कम्पन विस्तारै शान्त हुन्छ।” यो दृश्य हेर्न हजारौँको भीड लाग्ने गर्छ। सुसान्त मलेपतीका अनुसार ताल मेल नखाँदा वा जुठो–सुत्केरो परेको कलाकार नाच्दा यस्तो कम्पन पैदा हुने गर्दछ।
पुस्तान्तरणको कथा तीन पुस्ताको एउटै आँगन
हनुमान नाचको संरक्षणमा पुस्तान्तरणको एउटा सुन्दर पाटो छ। अठार वर्षीय सक्षम श्रेष्ठ यसको उदाहरण छन्। उहाँका हजुरबुबा नरबहादुर श्रेष्ठ र बुबा विविन्द्र श्रेष्ठ दुवै हनुमान नाचका कुशल कलाकार थिए। अहिले सक्षम आफैँ हनुमान बनेर मैदानमा उत्रिने गर्छन्।
सक्षम भन्छन्, “हाम्रो परिवारको तीनै पुस्तालाई वीर चढ्छ। यो हाम्रो रगतमै छ। हजुरबुबा र बुबाले नाचेको देखेरै मैले पनि यो कला सिकेँ। नाच्ने क्रममा देउता तालमा एक्कासी झड्का लाग्यो र वीर चढ्यो। “अहिलेको नाचमा १६ देखि ४० वर्षसम्मका युवाको सहभागिता छ, जसले यो परम्परा अर्को केही दशकसम्म सुरक्षित छ भन्ने सङ्गत गर्छ। नेवारी युवामा नाचप्रति आकर्षण बढेकाले पुस्तान्तरणको सङ्कट तत्काललाई टरेको देखिन्छ। हजुरबुबा र बुबाको पदचाप पछ्याउँदै युवापुस्ता मैदानमा उत्रिनु नै यो ३०० वर्ष पुरानो नाच जोगिनुको मुख्य रहस्य हो।
संरक्षणका चुनौती
हनुमान नाच जोगाउन अहिले सबैभन्दा ठूलो चुनौती आर्थिक भार बनेको छ। विसं २०३३ मा १८ रुपैयाँमा सकिने नाच अहिले २० लाखसम्म पुगेको छ। साठीभन्दा बढी युवाको पोसाक, बाजागाजा र व्यवस्थापन निकै खर्चिलो छ। परिषद्का अध्यक्ष तीर्थप्रसाद श्रेष्ठ भन्छन्, “हाम्रो कुनै स्थायी स्रोत छैन। टोलटोलबाट चन्दा उठाएर यो संस्कृति धानिरहेका छौँ।”
कोरोना महामारी र आर्थिक अभावका कारण यो नाच नौ वर्षपछि मात्र प्रदर्शन हुन सक्यो। विसं २०८१ भदौ ११ गते शुभारम्भ गरी २०८३ वैशाख १५ गते १९ पटक देखाएर समापन गरिएको थियो। नियमित प्रदर्शन हुन नसक्दा नयाँ पुस्ताले नाच बिर्सने र बाद्यवादनको लय हराउने जोखिम रहन्छ। त्यसैले, परिषद्ले अब प्रत्येक तीन वा पाँच वर्षमा अनिवार्य रूपमा नाच देखाउने योजना बनाएको छ।
हनुमान नाचमा आन्तरिक पर्यटकको ठूलो भीड लागे पनि बाह्य पर्यटकलाई आकर्षित गर्न सकिएको छैन। बागलुङ नगरपालिकाले यसलाई ‘विश्व सम्पदा सूची’ मा सूचीकृत गर्ने पहल गर्ने भनेर नीति तथा कार्यक्रममा उल्लेख गरे पनि त्यो प्रक्रिया अझै प्रारम्भिक चरणमै छ। नगर उपप्रमुख राजु खड्काका अनुसार नारायणचोकलाई व्यवस्थित गर्न पूर्वाधार निर्माण र हनुमान नाचलाई अन्तरराष्ट्रीयकरण गर्न पहल भइरहेको छ। समुदायको चन्दाबाट जोगिएको यो ३०० वर्षे सम्पदालाई अब राज्यले आफ्नो ‘सांस्कृतिक गौरव’ का रूपमा अपनत्व लिनुपर्ने देखिन्छ।
हनुमान नाचमा सहभागी कलाकारलाई शपथ खुवाएर मात्र नाचमा समावेश गराइन्छ। कलाकार र बाद्यवादकले नुहाइधुवाई गरी चोखो निष्ठामा रहनुपर्ने कठोर परम्परा छ। दर्शकले कलाकार तथा बाद्यवादकको बीचबाट बाटो काट्न नहुने र माथिल्लो तलाको झ्यालबाट नाच हेर्न नहुनेलगायत नियम छन्। यी नियम उल्लङ्घन भएमा नाचमा ‘विघ्न’ आउने वा हनुमानलाई ‘वीर’ चढ्ने विश्वास गरिन्छ।
हनुमान नाच बागलुङको मात्र होइन, नेपालकै अमूर्त सांस्कृतिक सम्पदा हो। तीन सय वर्षअघि भक्तपुरबाट आएको यो परम्परालाई जोगाउन अब नेवार समुदायको चन्दा मात्र पर्याप्त छैन। यसका लागि राज्यले नीतिगत हस्तक्षेप र दीर्घकालीन सहयोग गर्न आवश्यक छ। तीन सय वर्षअघि हाम्रा पुर्खाहरूले लठ्ठी र मादलको तालमा जुन विरासत बागलुङको नारायणचोकमा सुम्पेका छन्, त्यसलाई आगामी दिन कसले बोक्नेछ ? यो प्रश्नको उत्तर अहिलेको पुस्ताले आफ्नो कर्मबाट दिनुपर्नेछ। हनुमान नाच केबल विगतको गाथा होइन, यो त हाम्रो भविष्यको राष्ट्रिय पहिचान पनि हो।

प्रतिक्रिया