यस्तो छ ‘लालीबजार’को टिजर


काठमाडौँ । फिल्म ‘लालीबजार’ को आगामी वैशाख १८ गते प्रदर्शन हुने भएको छ । यस अघि फिल्मको निर्माण घोषणा हुँदा फागुन १ गते प्रदर्शन हुने बताइएको भएपनि निर्माण पक्षले बुधबार टिजर सार्बजनिक गर्दै वैशाखमा प्रदर्शन हुने जानकारी दिएको छ । फिल्मको टिजरले कथावस्तु र पात्रको चरित्र चित्रणबारे जानकारी दिएको छ ।

बाध्यताले यौनकर्ममा लागेकी युवतीको राजपरिवारको सदस्यसँगको सम्बन्ध र नत्थी प्रथालाई टिजरमा देखाइएको छ । फिल्मको कथा बादी समुदायका महिलाको जीवन संघर्षमा आधारित रहेको देखिन्छ ।

यम थापाको कथा तथा निर्देशनमा बनेको यस फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी लगायतको अभिनय रहेको छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गरेका छन् ।

फिल्ममा निर्देशक थापा र प्रदीप भट्टराईको पटकथा तथा संवाद, सुशन प्रजापतीको छायाँकन, मित्रदेव गुरुङको सम्पादन, प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको संगीत, रोहित शाक्य र शैलेश श्रेष्ठको ब्याकग्राउन्ड म्युजिक तथा सम्राट बस्नेतको द्वन्द्व निर्देशन छ । फिल्मको कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।