-प्रकाश सायमी ।
सुनिल थापा नेपाली चलचित्रका एक उत्कृष्ट कलाकार त थिए नै, उनी एक अत्यन्त प्रिय मित्र पनि थिए । हामीले केही फिल्ममा सँगे काम पनि गर्यौँ, जसमध्ये ‘सपना’ फिल्ममा उनको मेरो एउटा दृश्य पनि थियो । सुनिल मुम्बई नेपाल आउनु अघि नै मेरो परिचय भएको थियो, त्यतिबेला मुम्बई बम्बई नै थियो । त्यतिबेला बम्बईमा हाम्रो पहिलो भेट पुलिस अफिसर ललित दूतराजको घरमा भएको थियो । उनी त्यतिबेला सिक्किम फिल्म कर्पोेरेशनको प्रताप सुब्बाद्वारा निर्देशित ‘मशाल’ मा अभिनय गरेर सिक्किमबाट फर्केका थिए । मशाल उनले अभिनय गरेको पहिलो नेपाली फिल्म थियो, त्यसपछि उनले चिनो, राँको, सपना, परिभाषा आदि फिल्म खेले ।
उनी नेपाली फिल्ममा आउँदा हिन्दी फिल्म ‘एक दूजे के लिए’ का चर्चित खलनायक भनेर चिनिन्थे तर उनलाई हिन्दी फिल्ममा पहिलो पटक देव आनन्दले ’साहेब बहादुर’ मा ब्रेक दिएका थिए । उनी देव आनन्दलाई खूब आदर गर्थे । देव आनन्दको ‘रोम्यान्सिङ् विद् लाइफ’ को विमोचनमा देव आनन्दलाई भेट्न हामी सँगै गएका थियौँ । देव आनन्दमार्फत् उनी हिन्दी फिल्ममा अभिनय गर्न आउँदा जेएस नामक पत्रिकामा कार्यरत थिए, कुनै समय उनले पत्रकारिता पनि गरे ।
सुनिल नेपाल आउँदा उनका घनिष्ठ मित्र थिए, फुटबलर नरेन्द्र ताम्राकार । नरेन्द्रमार्फत् नै उनको दोस्ती काठमान्डूमा अखण्ड नारायण श्रेष्ठ (जो अतेन्द्र भनेर चिनिन्थे ) सित भयो, अतेन्द्र पछि असनका विश्वहर्ष तुलाधर उनका घनिष्ठ मित्र भए । विश्व, अतेन्द्र, नरेन्द्र यी तीनैजना मेरा पनि घनिष्ठ मित्र थिए। यही दोस्तीमा हामी सँगै भएको भएर एक आपसमा दोस्त दोस्त भनेर बोलाउँथ्यौ ।
दोस्त सुनीलले सन् १९९८ मे ७ तारिखका दिन रजनी सुब्बासित विधिवत विवाह गरे । यी दम्पत्तिसित पनि नियमित सम्बन्ध भयो हाम्रो । सुनिल फिल्म निर्देशक नारायण पुरीका वीच घनिष्ठता थियो, दुवै एक अर्कालाई मितज्यू मितज्यू भन्थे ।
सुनिल र मेरो सम्बन्ध सदा मित्रवत् रह्यो । एकपटक हामी फिल्म वर्कसपमा लेखक विक्रम भक्त जोशी, फिल्मकार राजेन्द्र शलभ, कलाकार बसुन्धरा भूषाल अनि सुनिल एउटै फ्लाइटमा लुम्बिनी गएका थियौँ, सँगै एउटै होटल बसेका थियौँ । त्यो याद अझै पनि ताजा छ । सुनिल, हाम्रो मन मष्तिस्कमा सदैव जीवित रहनेछौ ‘द ग्रेट आर्टिस्ट एन्ड ग्रेट ह्यूमन विइङ्ग’ । मिस यू ।

प्रतिक्रिया