चलचित्र ‘बोक्सीको घर’को टीमले ‘पेट्रोल पम्प’ निर्माण गर्ने


काठमाडौं । चलचित्र ‘बोक्सीको घर’को टीम नयाँ चलचित्र निर्माणमा जुटेको छ । अभिनेत्री केकी अधिकारी र निर्देशक सुलक्षण भारतीको टीम नयाँ चलचित्र ‘पेट्रोल पम्प’ निर्माणमा जुटेको हो ।

चलचित्र केकी अधिकारीको होम प्रोडक्सनबाट बन्नेछ । केकीले भनेकी छन्, ‘पुनः सहकार्यको यो यात्रामा हामी ‘बोक्सीको घर’ टिम एकपटक फेरि एउटै सपना बोकेर अगाडि बढिरहेका छौँ । कलाप्रतिको प्रेम, सिनेमाप्रतिको इमानदारी र कथाप्रतिको गहिरो सम्मानले हामीलाई फेरि एकसाथ बाँध्यो । ‘बोक्सीको घर’ लाई यहाँहरुले दिनुभएको अपार माया, विश्वास र साथले हामीले अझ जिम्मेवार महसुस गरेका छौँ । हामीले नयाँ कुरा सोच्ने, नयाँ प्रयास गर्ने हिम्मत जुटाएका छौँ । त्यही प्रेरणा, त्यही आत्मा र त्यही मिहिनेतका साथ हामी लिएर आउँदैछौँ हाम्रो नयाँ प्रस्तुति ‘पेट्रोल पम्प’ ।’

चलचित्रमा लेखन तथा निर्देशन सुलक्षण भारतीको रहनेछ । प्रोडुसर भने केकी अधिकारी हुनेछिन् । सोसल ड्रामा जानरामा निर्माण हुने चलचित्र ‘पेट्रोल पम्प’ २०८३ मा रिलिज हुनेछ । चलचित्रमा समावेश कलाकारको बारेमा निर्माण पक्षले खुलाएको छैन ।