‘गजल नारायणी’ प्रस्तुत


काठमाडौँ । गजलकार नारायण नेपालका ‘गजल नारायणी’ गजलको विशेष साङ्गीतिक प्रस्तुति गरिएको छ ।

नेपाली गजल गायनको स्वर्ण दशकको अवधारणाअन्तर्गत शनिबार अनाम मण्डलीको आयोजनामा सम्पन्न भएको कार्यक्रममा नेपाली गजल साहित्य र सङ्गीतबीचको सुन्दर समन्वय प्रभावकारी रूपमा प्रस्तुत गरिएको हो ।

कार्यक्रममा गजलकार नेपालका विभिन्न कालखण्डका चर्चित तथा समसामयिक गजललाई सङ्गीतबद्ध गरी प्रस्तुत गरिएको थियो ।

साङ्गीतिक प्रस्तुतिमा गायक सन्तोष श्रेष्ठ, सङ्गीतकार तथा गायक भूपू पाण्डे र गायिका जलजला परियारले गजलका भाव, अनुभूति र सौन्दर्यलाई जीवन्त बनाउँदै दर्शक–श्रोताको मन जितेका थिए । प्रस्तुत गजलले प्रेम, समाज, जीवन दर्शन र मानवीय संवेदनाका विविध आयाम समेटेका थिए ।

कार्यक्रममा साहित्यप्रेमी, कलाकार, सर्जक तथा गजल अनुरागीको उल्लेखनीय उपस्थिति थियो । सहभागीले ‘गजल नारायणी’जस्ता कार्यक्रमले नेपाली गजलको गरिमा अभिवृद्धि गर्नुका साथै स्रष्टा र श्रोताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने सहभागीले प्रतिक्रिया व्यक्त गरेका थिए ।