काठमाडौँ । तीन साथीको दैनिकीलाई समसामयिक विषयसँग जोडेर ‘हरामी’ नामक शृङ्खला तयार पारिएको छ ।
‘बिटी कान्छा’ को उपनामले परिचित हाँस्यकलाकार विश्वास तिमल्सेनाको लेखन तथा निर्देशनमा तयार पारिएको उक्त शृङ्खलामा हरी, राहुल र मिलन नामका तीन चरित्रलाई केन्द्रमा राखिएको छ । उनीहरूकै नामका पहिलो अक्षर राखेर शृङ्खलाको नामाङ्कन ‘हरामी’ राखिएको निर्देशक तिमल्सेनाले जानकारी दिए ।
उनले भने, ‘शृङ्खलामा देशको समसामयिक विषयलाई तीन साथीको अवस्थामार्फत चित्रण गरेका छौँ । यसमा हाँस्यरसको भरपुर प्रयोग गरिएको छ । हामीले प्रसारित पहिलो भागबाट राम्रो समीक्षा पाएका छौँ । कुल पाँच भागको शृङ्खलामार्फत मनोरञ्जनसँगै सन्देश पनि दिने हाम्रो कोशिस छ ।’
निर्देशक तिमल्सेना पछिल्लो समय ‘कमेडी दरबार’ नामक हाँस्य कार्यक्रममा कलाकारका रुपमा प्रस्तुत भएका थिए । शृङ्खलामा भने उनले निर्देशकीय दायित्व निर्वाह गरेका छन् ।
मन प्रोडक्सनले निर्माण गरेको उक्त शृङ्खलामा निकुन श्रेष्ठ, ऋषिकेष बस्याल, सशाङ्क बोहरा, आना शर्मा, घनुभाई जोशी, रक्षा थापा, गौमाया गुरुङ, प्रीतिशा अधिकारीलगायत कलाकारले अभिनय गरेका छन् ।
आफ्नो युट्युब च्यानलमार्फत नेपाली चलचित्रको रमाइलो समीक्षा गर्दै लोकप्रिय भएका निर्देशक तिमल्सेनाले शृङ्खलाको हरेक नयाँ भागमा भिन्न विषयवस्तु रहने बताए ।

प्रतिक्रिया