जेनजी पुस्ताको खबरदारी देखाउने टेलिचलचित्र ‘नवयुग’ प्रदर्शनमा   


काठमाडौँ । जेनजी पुस्ताले भ्रष्टाचार र बेथितिविरुद्ध खबरदारी गर्न गरेको प्रदर्शन देखाउने टेलिचलचित्र सार्वजनिक भएको छ ।

कलाकारिताका दुई हस्ती नाट्यकर्मी सुनील पोखरेल र हास्यकलाकार सन्तोष पन्तलगायत कलाकारले जागरणमूलक यस्तो टेलिचलचित्र सुरु गरेका हुन् ।

टेलिचलचित्र नवयुगमार्फत देशमा भइरहेको भ्रष्टाचार, बेथिति, कुसंस्कार, कुरीति र राजनैतिक नेतृत्वले गरेको बेइमानीविरुद्ध खबरदारी गर्न उनीहरु एउटै पर्दामा उत्रिएका हुन् । सुनिल पोखरेल लामो समयदेखि चलचित्र र नाटकमा देखिएका थिएनन् । उनले गत भदौ २३ र २४ को युवाहरुको प्रदर्शनपछि पर्दामा आउनु परेको बताए । 

युवाहरु परिर्वतन चाहन्छन् । कुशासनको अन्त्य र सुशासनको सुरुवात सम्भव छ । देश युवापुस्तालाई हस्तान्तरण गर्नैपर्छ भन्ने टेलिचलचित्रमार्फत दिन खोजिएको छ । स्वदेशमै केही गर्न सम्भव छ, विदेसिनु हुन्न भन्ने कथाको मूल सन्देश हो ।  

नेताले देश खाए भन्ने प्रतिबिम्बका रुपमा सन्तोष पन्तले ‘धमिरे’को भूमिकाको अभिनय गरेका छन् । सुनिल पोखरेल आदित्य गुरु बनेर समाजलाई सकारात्मक दिशामा लैजान सम्भव छ भन्ने प्रेरणादायी गुरुका रुपमा देखिएका छन् ।

टेलिचलचित्रमा दीपक बस्नेतले लेखन तथा निर्देशन गरेका हुन् । टेलिचलचित्र नवयुग दिप क्रियटिभ युट्युब च्यानलबाट प्रदर्शनमा आएको जनाइएको छ ।