-डा. जीवन क्षेत्री ।
कुनै बेला भनिन्थ्योः भारतमा जे छैन, त्यो बलिउडले देखाउँछ । त्यसैले वास्तविक जीवन बिर्साउन मानिसहरु हल जान्छन्, हाहु रमाइलो हेरेर तीन घण्टा दुःख बिर्सन्छन् अनि पुरानै जीवनमा फर्कन्छन् । तिनलाई सिनेमाले आफ्नो जीवनको अँध्यारो र अन्याय देखाओस् भन्ने हुँदैन किनकी ती दुःख बिर्सन त्यहाँ गएका हुन् । आफ्नो जीवनमा अनेक खलनायकले आफ्नो रगत चुसेका हुन्छन् तर हलमा सर्वशक्तिमान नायकले बीस जना खलनायकलाई एक्लै चुटेको हेर्न र चित्त बुझाउन ती हल पुगेका हुन् । याद गर्नुस्, यो कुनै बेलाको कुरा हो । आजको भारतीय सिनेमा ती दिनभन्दा निकै अघि पुगिसकेको छ भलै अझै पनि ‘फर्मुला’वाला सिनेमाहरु बन्ने गर्छन् ।
नेपालमा वैदेशिक रोजगारीलाई लिएर जति पनि सिनेमा बनेका छन्, तीमध्ये परान उम्दा सिनेमा हो । यसमा विम्बहरुको उत्कृष्ट प्रयोग छ । (गाउँ छाडेर मुख्य पात्र अटोरिक्सा चढेर निस्कने बेला पृष्ठभुमिमा एउटा यमानको, शायद उत्तीसको, रुख दड्याम्म गर्दै पल्टिन्छ र उत्तानो जरा लगाउँछ ।) हास्यरस प्रशस्त छ । नीर शाहको अभिनय बेजोड छ ।
तर सिनेमाभरि मलाई यो प्रश्नले लखेटिरह्योः यो सिनेमामा देखाए जति भावनाको गहिराइ नेपाली समाजमा चाहिं कहाँ छ? ती बाबु कहाँ छन् जसले छोरा विदेशिँदा आफ्नो ‘परान’ विदेशिएको अनुभुत गर्छन् ? ती छोरा कहाँ छन् जसलाई बाबुले साँच्चै आफ्नो प्राण मान्न सक्छन् ?
हुन त यस विषयमा मेरो कुनै वैज्ञानिक अध्ययन छैन । तर मैले सन्तान विदेश जान नसकेको सन्तापमा रहेका बाबुआमा भेटेको छु । देशमा राम्रै गरे पनि सन्तान विदेश जान नचाहेकोमा छिमेकीलाई प्रष्टीकरण दिंदै हिंड्न अभिशप्त बाबुआमा भेटेको छु । सन्तान स्कुल जान शुरु गर्नासाथ उसलाई कुन देश पठाउने भनेर योजना गर्ने बाबुआमाहरु अब प्रशस्तै छन् ।
अहिले पनि कतिका लागि आफू विदेशिनु वा सन्तानलाई विदेश पठाउनु बाध्यता होला । तर धेरैका लागि भने अब विस्तारै त्यो स्वभाविक प्रक्रिया र रहर बनिसकेको छ । यो अवस्थामा शहर वा विदेश पसिककेका सन्तानलाई गाउँ फर्काउन बल गर्ने बाबुआमा कति होलान् ? के सिनेमाको गाउँले झैं यथार्थको गाउँले मान्छे तान्न सक्छ ?
यति भन्दै गर्दा मैले यो फिल्मलाई दोष दिन खोजेको हैन । गाउँको माटोप्रति पात्रहरुको लगाव हेर्दा मलाई पनि आनन्द आयो । भलै मेरो आफ्नै परिवार गाउँमा एक सुर्को बाँकी नराखी जग्गा बेचेर मधेश झरेको हो । मानिसहरुबीचको आत्मीयता होस् वा जमिनसितको अपनत्व, सिनेमामाथि प्रश्न उठाउने कुरा हैन । म त मज्जाले हलमा गएर यसलाई हेर्नुस् भन्छु ।
तर सोचनीय कुरा चाहिं के भने, साँच्चिकै सिनेमामा परिवारभित्र र छरछिमेकीबीच जति घनिष्ठ र आत्मीय सम्बन्ध छ, त्यति यथार्थमा भएजस्तो देखिंदैन किन ? के सम्बन्धहरु यति गहिरा र आत्मीय हुन सक्छन् भनेर देखाउन अब आख्यानको विकल्प मात्रै रहेको हो ? कि शहरका फितला सम्बन्धहरुमा अभ्यस्त भएर मैले चाहिं गाउँ छँदाका सम्बन्धहरु बिर्सेको हो? बाल्यकालका जति कसिला सम्बन्धहरु मेरो स्मृतिमा छन्, शहर गाउँ पसेसँगै के आजको गाउँका बालबालिकाहरु त्यस्तै कसिला सम्बन्ध हेरेर हुर्किरहेका होलान् ?
गाउँमै पनि दिनभरि बाउआमाका स्मार्टफोन च्यापेर दिनभरि रिल हेरिरहने केटाकेटीले के शहरमा भन्दा गहिरा सम्बन्ध बनाइरहेका होलान् र ? वर्षभरि पाखा र खोला किनारमा गाइवस्तु चराउँदै भकुण्डो वा कपर्दी खेल्दा बन्नेजस्ता सम्बन्धहरु के स्मार्टफोनका गेम खेल्दा बन्दा हुन् र ? आख्यानका रुपमा परान राम्रो छ । तर समाजमा सम्बन्धहरु कसरी बदलिंदै छन् भन्नेबारे हाम्रो समाजशास्त्रीय अध्ययन अलि पुगेन कि ? भन्न खोजेको यति मात्रै हो है ।

प्रतिक्रिया