काठमाडौँ । जेनजी पुस्ताको आन्दोलनलाई कलाकारहरुले पनि समर्थन गरेका छन् । अभिनेता पल शाह, गायक शिव परियारले सोमबार हुने जेनजी पुस्ताको आन्दोलनप्रति समर्थन जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत पल शाहले देश दिन प्रतिदिन बढ्दो भ्रष्टाचारले समृद्धि मात्र हैन, आम जनताको भरोसा र आशा समेत समाप्त पारिरहेको उल्लेख गर्दै जेनजीद्वारा आयोजना गरिएको आन्दोलन शान्तिपूर्ण विरोध प्रदर्शन हुनुपर्ने र कुनै नागरिकलाई पनि चोट पटक नलागोस्, नागरिकका कुरा सुनियोस् भन्ने अपेक्षा गरेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘नेपालमा दिन प्रतिदिन बढ्दो भ्रष्टाचारले देशको समृद्धि मात्र हैन, आम जनताको भरोसा र आशा समेत समाप्त पार्दैछ । गरिब, दुःखी र असहायहरू झनझन पीडित भइरहेका छन् उनीहरूको आवाज सुनिनु त परै जाओस्, दबाउने काम भइरहेको छ । यस्तो अवस्थामा अभिव्यक्ति स्वतन्त्रता खोस्ने, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयहरूले स्थिति झन गम्भीर बनाएको छ। हामी हाम्रो देश राम्रो बनोस्, सबै नेपाली खुशी र सुरक्षित जीवन जिउन सकून् भन्ने चाहन्छौं । तसर्थ भोलि ८ सेप्टेम्बरमा जेनजीद्वारा आयोजना गरिएको आन्दोलन शान्तिपूर्ण विरोध प्रदर्शन होस् । जति पनि सहभागी हुनुहुनेछ, सबै जना सुरक्षीत तरिकाले आन्दोलन गर्नुहोला। कुनै नागरिकलाई पनि चोट पटक नलागोस्, नागरिकका कुरा सुनियोस् भन्ने अपेक्षासहित।’
त्यस्तै शिव परियारले पनि जेनजी पुस्ताको आन्दोलनको समर्थन गरेका छन् । उनले भनेका छन्, ‘यो नेपाली युवा जनमानसमा आएको चेतना हो । कुशासन, भ्रष्टचार, दण्डहिनता लगायतका शासकका नकारात्मक विषयको विरोधमा ‘Generation Z (Gen Z)’ पुस्तामा आएको चेतनाको प्रतिबिम्ब हो । हामी परिवर्तनका पक्षधरहरुले यस कुरालाई सकारात्मक रुपमा ग्रहण गर्नुपर्दछ ।’

प्रतिक्रिया