रमा रानामगरको ‘बरिलै'(भिडियोसहित)


काठमाडौं । नेपाली संगीत बजारमा रमा रानामगरको स्वरमा नयाँ मर्मस्पर्शी गीत ‘बरिलै ‘सार्वजनिक भएको छ। यस गीतलाई सुवास अम्गाईंले निर्देशन गरेका हुन् ।

भिडियोमा रोशनी गिरी, आर्यन, सज्जा र विष्णुको दमदार अभिनय देख्न पाइन्छ । गीत सार्वजनिक भएसँगै छोटो समयमा नै यसले दर्शक–श्रोतालाई आकर्षित गर्न थालेको छ। भावपूर्ण शब्द, मन छुने धुन र कलात्मक निर्देशन यस गीतको प्रमुख विशेषता बनेको छ। भिडियोमा सबै कलाकारले उत्कृष्ट काम गरे पनि विशेषगरी आर्यन र रोशनीको अभिनय अहिले सबैको चर्चा बटुलिरहेको छ । आर्यनले गीतसँग मेल खाने गहिरो अभिनय प्रस्तुत गरेका छन्।

अनुहारको भाव र प्रस्तुति स्वाभाविक भएकाले उनले दर्शकलाई गीतसँगै जोडिदिएका छन् । रोशनी गिरीको भावनात्मक अभिव्यक्ति र जीवन्त अभिनयले भिडियोमा छुट्टै आकर्षण थपेको छ । दर्शकहरूले सामाजिक सञ्जालमा उनीहरूको जोडीलाई ‘गीतको आत्मा’ भनेर टिप्पणी गरिरहेका छन् ।

गीतमा सज्जा र विष्णुको प्रस्तुति पनि उल्लेखनीय छ। उनीहरूको अभिनयले भिडियोमा विविधता र गहिराइ थपेको छ। सम्पूर्ण कलाकारहरूको टीम–वर्कले भिडियोको स्तर अझै माथि पुर्याएको छ । नेपाली संगीत भिडियो क्षेत्रमा निरन्तर सक्रिय निर्देशक अम्गाईं यस पटक पनि सफल देखिएका छन्।

उनले भावनात्मक गीतलाई दृश्यात्मक रूपमा प्रभावकारी बनाउन विशेष ख्याल गरेका छन् उनले भनेका छन्, ‘यो गीतले दर्शक–श्रोतालाई आफ्नै जीवनसँग जोड्ने विश्वास लिएको छु। प्रत्येक भावनालाई दृश्यमा उतार्ने कोसिस गरेको छु।’